Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको अंक ६२४

बेरोजगारलाई रोजगार उपलब्ध गराउने अर्थात काम खोज्ने र काम दिनेबीच भेट गराउने उदेश्यले अहिले सातवटै प्रदेशमा श्रमाधान रोजगार मेला भैरहेको छ । सरकारको आयोजनामा गएको १७ गतेदेखि शुरु भएको मेला आज र भोलि ललितपुरमा भएपछि समापन हुन्छ । अहिले भएको श्रमाधान रोजगार मेला सरकारको विशेष अभियान हो । त्यसो त रोजगारी अर्थात काम खोज्नेलाई सेवा दिन देशका सबै पालिकामा रोजगार सेवा केन्द्र पनि छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको रोजगार सेवा केन्द्रले देशकै रोजगारी र बैदेशिक रोजगारीमा जानेलाई सेवा त दिइरहेका छन्— उत्तिकै चुनौतीहरु पनि खेपिरहेका छन् । आजको कार्यक्रम देश परदेश यसैसँग सम्बन्धीत छ । आज हामी रोजगार सेवा केन्द्रले भोगिरहेका चुनौती र त्यसको समाधानका लागि गरिनुपर्ने पहलबारे छलफल गर्छौं । यस सन्दर्भमा हामीले रोजगार सेवा केन्द्रका मुख्य चुनौतीहरु के के हुन् भनेर रुपन्देहीको बुटबल उपमहानगरपालिकमा रहेको रोजगार सेवा केन्द्रका संयोजक अरविन्द पाण्डेसँग कुराकानी गरेका छौं । यसै सन्दर्भमा पालिकामा रोजगार सेवा केन्द्रसञ्चालन भएपछि बैदेशिक रोजगारीमा जाने र देशमै स्वरोजगार गर्नेलाई फाइदाबारे काभ्रेको भुम्लु गाउँपालिकामा रहेको रोजगार सेवा केन्द्रका संयोजक सन्तोष अधिकारीले बताउनुभएको कुरा पनि कार्यक्रम देश परदेशको अंक ६२४ मा समावेश छ ।