बडादशैँ : आज स्कन्दमाताको पूजा आराधना गरिँदै
असोज २२, २०८१ मंगलबार
काठमाण्डाै शहर पनि अचम्मैको छ । खुरुखुरु हिँडेको भए आधा बाटो पुगिसकिन्थ्यो, पर्खेर बसेको माइक्रोबस आउँदै आउँदैन । उभिँदा उभिँदा खुट्टा गलिसक्यो । न थुचुक्क बस्नु, न लखरलखर हिँड्नु ! चर्को घाम, धुलो र धुवाँमा रुमलिएर सडकमा हेर्याे, कोही कारमा हुइँकिएका छन्, कोही मोटरसाइकलमा । पाँच जना बस्न मिल्ने कुनै कारमा एक जना चालक मात्रै, कुनै कारको पछिल्तिर एक जना हाकिम मात्रै । सँगै गुडेका सार्वजनिक बसमा अटेसमटेस मान्छे नै मान्छे ! यो अचम्मको शहरमा कतै मान्छेलाई सिट छैन, कतै मान्छे नपाएर सिट मात्रै खाली खाली कुदेका छन् ।
खाली सिट र भरी मान्छेको तालमेल मिलाउन पाए कस्तो मज्जा हुन्थ्यो ! तर के गर्नु तालमेल मिलाउन मिल्ने यो प्रधानमन्त्री, मुख्मन्त्री, मन्त्री र अरू सरकारी मान्छे बस्न मिल्ने सिट होइन । भोट दिन मात्रै काममा आउने मान्छेहरू बस्ने गाडीको सिट पर्याे ।
कुनै दिन मन्त्रीको सिटमा बस्न पाइयो भने गाडीको सिट मिलाउनुपर्ला भनेर सोच्दासोच्दै उताबाट आफू चढ्ने माइक्रोबस आइपुग्यो । ढोका लगाउनैपर्ने नियम नभएको भए बाहिरै झुन्डिएर उभिएका मान्छे वरैबाट देखिन्थ्यो । ट्राफिक प्रहरीका लागि मात्र ढोका लगाउनैपर्ने नियम भएकाले ढोका नखोल्दासम्म कति मान्छे छन् पत्तो हुँदैन । बस रोकिएपछि ढोका खुल्यो तर भित्र छिर्ने ठाउँ नै छैन ।
‘ल ल अलि पर सर्नुस्’ अघिल्तिर स्टेरिङ समातेर बसेका चालक पछिल्तिर फर्किएर कराए । हिजोआज धेरै बसमा सहचालक हुँदैनन् । सहचालक उभिने ठाउँमा यात्रु नै उभ्याउँदा फाइदा हुने भएकाले होला, सहचालकको काम पनि चालकले नै गर्दै आएका छन् ।
‘ठाउँ भए पो सर्नु’ पछिल्तिर बसको भित्तामै च्यापिएर बसेको मान्छे बोले ।
‘सिधा भएर उभिएपछि कहाँ ठाउँ हुन्छ त ? एउटा खुट्टा सिट मुन्तिर घुसाउनुस्, टाउको उतातिर झुकाउनुस्, ज्यान उता ढल्काउनुस्, अनि मिलेर बस्नुस्’ चालकले मिलाउन गाह्रो हुने जिउ मिलाएर उभिन आदेश दिए ।
अघिदेखि नै उकुसमुकुस भएर उभिएकाहरूले हातखुट्टा, ज्यान र टाउको मिलाएर अलि पर सरेपछि आफूलाई बल्लतल्ल भित्र छिरेर कक्रक्क हुँदै उभिने ठाउँ मिल्यो । छेउमा उभिएका एक जनाको काखी मुनिबाट टाउको छिराएर अघिल्तिर फर्कन पाउँदा अलिअलि भए पनि सास फेर्न सजिलो भयो ।
दुई जना बस्ने सिटमा तीन जना । तीन जना बस्ने सिटमा चार जना । एउटा सिट र अर्को सिटको लहरको बीचमा समेत खुट्टा छिराएर मान्छे उभिएका छन् । उभिने ठाउँमा त दाउराको हार लगाए जसरी मान्छेको खात छ । मान्छे एउटै हो तर छ हात एकातिर, खुट्टा अर्कातिर, टाउको उतातिर, ज्यान यतातिर । कुन खुट्टो आफ्नो, कुन अर्कोको खुट्याउन पनि मुश्किल ।
सास फेर्न पनि सास्ती र उकुसमुकुस । कसैको काखी गन्हाएको छ, कसैको सास । त्यतिले मात्रै स्वाद पुगेन भनेर होला कुन चाहिँले अपनवायु छोड्यो । नाक थुन्न खोजेको त नाक एकातिर छ, हात अर्कोतिर । सँगै उभिने मान्छेको पिठ्युँभन्दा उता चेपिएर बसेको हातलाई अर्को मान्छेको काखीमुनि छिरेको मुन्टोमा रहेको नाकसम्म ल्याउनै मुश्किल । कसैले नाक थुन्न भ्याएन तर सिटमा असजिलोसँग बसिरहेको एक जना पहिलेदेखि नै नाक थुनेर बसिरहेको छ । शायद अपनवायुको मुहान ऊ नै थियो र गन्ध फैलनुभन्दा पहिल्यै नाक थुन्नुपर्छ भन्ने उसलाई मात्रै थाहा थियो ।
सिटमा हुनेहरू पनि कहाँ सजिलोसँग बसेका छन् र ! दुई जनाको सिटमा तीन जना छन् । छेउतिर हुनेले त शरीरको बस्ने ठाउँको एउटा भाग मात्रै सिटमा अड्याएको छ, अर्को भाग चाहिँ सँगै छेउमा उभिएको मान्छेको खुट्टामा टेकाएको छ । झ्यालतिर बस्ने पनि चेपिएर मुख अमिलो बनाएको छ । बीचमा बस्ने चाहिँ दुई जनाको काखमा अडिएको छ । पछिल्तिर सिटमा कलेजका ठिटाठिटीहरू छन् । चेपिएर बसे पनि उनीहरूको अनुहारमा चाहिँ चमक देखिन्छ । भीडमा रमाउने कोही कोहीबाहेक धेरैलाई न बसभित्र उभिन सजिलो छ, न बस्न ।
बरु यस्तो बसमा सिट नै नभए सजिलो हुन्थ्यो । कसरी भन्नु होला । बस चढेको बेला भीडमा चेपिएर भए पनि सबै सिट नियालेर हेर्नुस् त । अघिल्तिर चालकको छेउमा दुई जना यात्रु अटाउँछन् । चालकको पछिल्तिर ढोका अगाडि तीन जना बस्न मिल्ने सिट, त्यसको पछिल्तिर तीन लहरमा दुई/दुई जना बस्ने सिट र पछिल्तिर चार जना बस्न मिल्ने अर्को लामो सिट हुन्छ । कुनै कुनैमा त चालकको ठयाक्कै पछिल्तिर अढेस लगाउन नमिल्ने, शरीरको बस्ने भागमात्रै टेकाउन मिल्ने अर्को लामो सिट पनि हुन्छ । तर तीन जना बस्न मिल्नेमा चार जना, दुई जना बस्न मिल्नेमा तीन जना र चार जना बस्न मिल्नेमा पाँच जना बस्नुपर्छ । बस्न नमिले पनि चालक र सहचालकले जबरजस्ती बसाउँछन् । बस्दिनँ भन्न पाइँदैन । दुई जना अट्न मिल्ने सिटमा तीन जना बस्नुपरेपछि उभिँदा भन्दा पनि असजिलो हुन्छ । त्यहाँमाथि तीन जना कोचिएर बस्ने सिटको ठाउँमा अर्को तीन जना उभिन मिल्छ । त्यसरी बस्नभन्दा त उभिनै सजिलो नि ।
त्यसैले ए माइक्रोबसका गुरुजी ! भएभरका सिट झिकेर घरमा लैजानुस् । उता घरको बैठक कोठामा सोफाको काम पनि गर्याे, यता बसभित्र अझै यात्रु कोच्न पनि पाइयो । यात्रु त सिट हुँदा पनि उभिने नै हुन्, नहुँदा पनि उभिने नै हुन् । कहिलेकाहीँ सिटमा बस्न पाउँदा पनि असजिलै हुने हो, उभिँदा पनि असजिलै हुने हो । बसेर असजिलो हुनुभन्दा त उभिएरै असजिलोको अनुभव लिन मज्जा हुन्छ । मिल्छ भने गुरुजीले आफू बस्ने सिट पनि झिकेर पिर्का ओच्छ्याए हुन्छ । गुरुजीले पिर्कामा बसेर स्टेरिङ समाउँदा वरपर अरू चार जना मान्छेका लागि ठाउँ खाली हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।