अतिप्रशोधित खानेकुरा कम गर्न भान्साको तालिका बनाएर खान सिकौँ

 चैत २९, २०८० बिहिबार १६:३९:४८ | कला नेपाल
unn.prixa.net

अतिप्रशोधित खानेकुरा भनेको सामान्यतया प्राकृतिक रूपमा पाइने खानेकुराको रूप नै बदलेर बन्ने खानेकुरा हो । जस्तै गहुँबाट पिठो बनाएर पिठोलाई प्रशोधन गरेर त्यसमा विभिन्न रङ्ग, टेस्टिङ पाउडरहरू प्रयोग गरेर त्यसलाई आफ्नो प्राकृतिक रूपभन्दा अर्को रूपमा बदलेर लामो समयसम्म राख्नका लागि तयार गरिएका खानेकुराहरू हुन् । जसमा पौष्टिक तत्त्व कम हुन्छ । गहुँमा कार्बोहाइड्रेट र फाइबर हुन्छ । पिठो हुँदै मैदा, मैदाबाट बिस्कुट बनाउने बेलासम्म त्याे पाैष्टिक तत्त्व कम भइसक्छ । गहुँमा हुनेजति कार्बोहाइड्रेट र फाइबर बिस्कुटमा पाइँदैन । अतिप्रशोधित खानेकुरामा नुन, तेल, चिनीबाहेक अरू रङ्ग, खानेकुरा जोगाउन प्रयोग गरिने रसायनलगायत मिसाउने गरिन्छ ।

हामीले प्रयोग गर्ने धेरैजसो खानेकुरा हामीले नै प्रशोधन गरेका हुन्छौँ । जस्तैः– खेतबारीबाट तरकारी टिपेर ल्याएपछि त्यसलाई पखालेर, काटेर पकाउँछौँ । यसलाई प्रशोधित खानेकुरा भनेर बुझ्नु पर्छ । तपाईँ/हामीले कुनै पनि सामग्री बजारबाट ल्याउँदा तयार भएको मिति र म्याद सकिने मितिसम्म हेर्ने गर्छाैँ । तर अब खानेकुरा किन्दा लेबलिङ हेर्न जरुरी छ । जसमा कुन रङ्ग कति प्रयोग भएको छ, कुन केमिकल कति प्रयोग गरिएको छ, कार्बोहाइड्रेट, सोडियम, फ्याट कति छ भनेर उल्लेख गरिएको हुन्छ । अब ती कुराहरू हेरेर किन्नुपर्छ । लेबल हेर्ने बानी बसाल्नुपर्छ । त्यसपछि सकेसम्म कम प्रशोधन भएका खानेकुरा छान्न सक्नुपर्छ ।

हामीले अस्पतालमा बिरामी हेर्दा पनि बिरामीको वर्गीकरण गर्छाैँ । अस्पतालमा आउनेहरूमा कोही सुगर, प्रेसर, मुटु रोगी आउनुहुन्छ । उहाँहरूले कार्बोहाइड्रेटयुक्त, तारेको खानेकुरा, चुरोट, रक्सी बढी खाने गरेको देखिन्छ । त्यस्तै अर्को वयस्क उमेरका बढी तौल भएकाहरू आउनुहुन्छ । वयस्क उमेरका बढी तौल हुनेहरूले धेरै बाहिरका खानेकुराहरू जस्तैः– चाउमिन, माेमाे, चाउचाउ, प्याकेटका खानेकुरा बढी खाने गरेको पाइन्छ ।

विश्वभर नै सामान्यतया खान मिल्ने रङ्ग र खान नमिल्ने रङ्ग भनेर निश्चित मापदण्ड तोकिएको हुन्छ । तर हामीले कति खान्छौँ भन्ने कुराले पनि भर पर्छ । दिनभरमा रङ्ग मिसाएको खानेकुरा धेरै खाँदा रङ्ग पनि त धेरै खाइएको हुन्छ । त्यसैले कुन खानेकुरा कति खाने, कसरी खाने भन्ने कुराले त्यो खानेकुरा सुरक्षित छ / छैन भनेर निर्धारण गर्छ । कुनै पनि प्राकृतिक खानेकुरालाई जति धेरै प्रशोधन अथवा रूप परिवर्तन गरिन्छ त्यति नै पौष्टिक तत्त्व कम हुँदै जान्छ । त्यसैले धेरै प्रशोधित खानेकुरा स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

अतिप्रशोधित खानेकुराको प्रयोग बढ्नुका कारण

कुनै पनि सामान सजिलै र कम मूल्यमा उपलब्ध हुन्छ भने त्यही सामान धेरैको रोजाइमा पर्छ । तपाईँ/हामी पनि सजिलो काम गर्न मन पराउँछौँ । अतिप्रशोधित खानेकुरा छ्यापछ्याप्ती पाइन थालेको पनि खासै धेरै समय भएको छैन । झन्डै १० वर्षअघिसम्म पनि यति धेरै प्रकारका अतिप्रशोधित खानेकुरा पाइँदैन थियाे । अझै गाउँघरतिर त मकै, रोटी, ढिँडो खाने चलन थियो । तर अहिले गाउँगाउँमा पनि चाउचाउ, चाउमिन, माेमाे, बिस्कुट, कोक, फेन्टाजस्ता अतिप्रशोधित खानेकुरा सजिलै उपलब्ध छन् । त्यसैले पनि यसको बढी प्रयोग भइरहेको छ ।

अतिप्रशोधित खानेकुरा सस्तो हुन्छ । अतिप्रशोधित खानेकुरा खाने बानी भएपछि लत लागेजस्तो हुन्छ । किनभने अतिप्रशोधित खानेकुरा खाँदा दिमागमा 'डोबामाइन' भन्ने केमिकल उत्पादन हुन्छ, त्यसले यस्ता खानेकुरा खाँदा एकदमै आनन्द महसुस गराउँछ । जसले गर्दा खान मन लागिरहन्छ । अर्को कुरा अहिले मानिसहरू अलि व्यस्त पनि हुन थाले । त्यसैले बजारबाट प्याकेटका तयारी खानेकुरा ल्याउन सजिलो, छिटो, सस्तो हुने भएकाले पनि अतिप्रशोधित खानेकुराको प्रयोग बढिरहेको छ ।

यही फेब्रुअरीमा प्रकाशित भएको एउटा अध्ययनअनुसार विश्वमा धेरै प्रशोधित खानेकुराको प्रयोगले ३२ वटा रोग निम्ताएको छ । त्यस्ता रोगहरूमा ग्यास्ट्रिक, क्यान्सर, मधुमेह, मुटु रोग, मोटोपन, बच्चामा दिमागको विकास नहुनेजस्ता समस्या देखिएको छ । विश्वकै तथ्याङ्क हेर्ने हो भने पनि ५० प्रतिशतभन्दा धेरै मानिसलाई मुटुको रोग र ५३ प्रतिशतभन्दा बढीलाई मानसिक समस्या देखिनुमा अतिप्रशोधित खानेकुराको प्रयोग रहेको छ । त्यस्तै २२ प्रतिशत मानिसको कुनै न कुनै अतिप्रशोधित खानेकुरा खाएकाले ज्यान गएको देखिएको छ ।

नेपालको अवस्था पनि उस्तै छ । नेपालमा यस विषयमा धेरै अनुसन्धान भएका छैनन् । काठमाण्डौमा १२ देखि २३ महिनाको बच्चामा अनुसन्धान गर्दा ९१ प्रतिशतले एक दिनमा कुनै एक अतिप्रशोधित खानेकुरा खाएको पाइएको थियो । कुनै पनि बच्चाले तीन वर्षभित्रमा कुनै अतिप्रशाेधित खानेकुरा खान्छ भने त्यो बच्चा १० वर्षको पुग्दा दिमागको विकास नभएको, पढाइमा पनि कमजोर भएको देखिएको छ । बच्चाको दिमागको दुई वर्षभित्र ८० प्रतिशत विकास भइसकेको हुन्छ । यदि दुई अथवा पाँच वर्षको बच्चालाई कुपोषण भयो भने पछि उसलाई मधुमेह हुने सम्भावना हुन्छ । पौष्टिक तत्त्व पुगेन भने बच्चाहरू होचो, पुड्को हुने समस्या हुन्छ । अहिले बच्चाको खानेकुरामा पनि त्यति ख्याल गरिँदैन । बच्चा छ महिनाको भएदेखि नै प्याकेटका खानेकुरा खुवाउने गरिएको पाइन्छ । जसले गर्दा स्वास्थ्यमा दीर्घकालीन समस्या पनि देखिन सक्छ । 

अतिप्रशोधित खानेकुरा कम गर्न सकिन्छ 

तथ्याङ्क हेर्दा अतिप्रशोधित खानेकुरा सबैभन्दा बढी बालबालिका र वयस्कले खाने गरेको पाइएको छ । कहिलेकाहीँ बाढी, पहिरो, भूकम्पजस्ता विपद्का बेलामा खानेकुरा नहुँदा जीवन धान्नका लागि पनि प्याकेटका खानेकुरा खानुपर्ने हुन सक्छ । तर अतिप्रशोधित खानेकुरा नास्ता, खानाको रूपमा खाने बानी गर्नु राम्रो हुँदैन । त्यसैले हप्ताभर के खाने भनेर खानेकुराको तालिका बनाउनुपर्छ । हुन त हामी नेपालीको तालिका बनाएर खाना खाने बानी त्यति छैन ।

आफ्नै भान्सामा भएका खानेकुरालाई योजनाअनुरूप तालिका बनाएर खाना खाने गर्दा सजिलै हुन्छ । प्रशोधित खानेकुरा प्रयोग नै नगर्नेभन्दा पनि त्यसलाई सीमित गरेर जुन कम प्रशोधित छ, जुन स्वस्थकर छ त्यस्ता खानेकुरा खानुपर्छ । पकाउने विधि स्वस्थकर अपनाउँदै सरसफाइमा पनि ध्यान दिनुपर्छ । स्वास्थ्यका लागि सबैभन्दा महत्त्वपूर्ण भनेको सन्तुलित आहार नै हो । ‘हरेक बार खाना चार’ भनेझै जसमा अन्न, गेडागुडी, हरियो सागसब्जी, फलफूल, पशुजन्य खानेकुरा नियमित खानुपर्छ । धेरै मैदाजन्य परिकार प्रयोग गर्नु हुँदैन । तेल, नुन, गुलियोको प्रयोग कम गर्नुपर्छ । सकेसम्म कम प्रशोधित खानेकुरा खाने, थोरै जमिनमा पनि करेसाबारी बनाउने, दैनिक शारीरिक व्यायाम गरेर स्वस्थकर जीवनशैली अपाउनुपर्छ । अतिप्रशोधित खानेकुरा नियन्त्रण गर्नका लागि यसका फाइदा/बेफाइदा के कस्तो छन् भनेर उपभोक्ता आफैँले पनि मूल्याङ्कन गर्नुपर्छ । त्यस्तै सरकारी निकायबाट पनि नियम, कानुन बनाउनुका साथै अतिप्रशोधित खानेकुरा कतिको स्वस्थकर छन्, कतिको गुणस्तर छन् भनेर नियमन गर्ने र समुदायमा पनि अतिप्रशोधित खानेकुराले स्वास्थ्यमा पार्ने असरबारे जनचेतना जगाउनुपर्छ ।

(पोषणविद् कला नेपालसँगको कुराकानीमा आधारित)

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

कला नेपाल

पोषणविद् हुनुहुन्छ । 
 

तपाईको प्रतिक्रिया