डढेलो नियन्त्रणका लागि दक्ष जनशक्ति, उपकरण र स्पष्ट योजना आवश्यक

 वैशाख २, २०८१ आइतबार ११:१५:४५ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

मनाङको जङ्गलमा लागेको डढेलो । तस्बिर : रासस

  • २०७९ सालको चैत २६ गते डोल्पाको ठूलीभेरी नगरपालिका–३ को जङ्गलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गयो ।
  • चैत २९ गते डोल्पाकै त्रिपुरासुन्दरी नगरपालिका–४ मा रहेको जङ्गलमा लागेको डढेलोमा परेर तीन जना बालकले ज्यान गुमाए ।
  • चैतकै पहिलो हप्ता कालीकोटको खाडाचक्र नगरपालिका–५ मा रहेको वनमा लागेको डढेलो निभाउन खोज्दा बाबु छोरीले ज्यान गुमाए ।
  • गएको वर्षको जेठ ३ गते अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ ढाकावाङको वनमा लागेको डढेलो निभाउने क्रममा चार जना स्थानीयको ज्यान गयो ।
  • त्यसअघि वैशाख २८ गते तेह्रथुमको छथर गाउँपालिका–३ को जङ्गलमा लागेको डढेलोमा परेर आमाछोराले ज्यान गुमाए ।

२०७९ सालमा देशभरका तीन हजार पाँच सय ८२ ठाउँको जङ्गलमा डढेलो लाग्यो । वन तथा भूसंरक्षण विभागको वन डढेलो अनुगमन प्रणालीको तथ्याङ्कअनुसार भक्तपुर र मुस्ताङबाहेक सबै जिल्लामा डढेलो लागेको हो । २०७९ सालमा डढेलोमा परेर कम्तीमा १४ जनाको ज्यान गयो भने ३० जनाभन्दा धेरै घाइते भए । जङ्गलको डढेलो बस्तीमा पस्दा कम्तीमा एक सय ३१ घरमा आगो लाग्यो । जसमा दुई करोड ४१ लाख रुपैयाँभन्दा धेरैको क्षति भयो ।

वन तथा भूसंरक्षण विभागका अनुसार नेपालमा बर्सेनि दुई लाख हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ । जसबाट वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी हुने अनुमान छ । डढेलोका कारण जलेका वनस्पति, जीवजन्तुको मूल्याङ्कन रुपैयाँमा मात्रै हुँदैन । डढेलोले हुने जङ्गलमा विनाशबाट पारिस्थितिकी प्रणालीमै असर गर्छ । डढेलोले बढाउने वायु प्रदूषण तथा हिउँ पग्लिने समस्या त छँदैछ । डढेलोको समस्या विकराल बन्दै गए पनि निभाउनका लागि न त पर्याप्त दक्ष जनशक्ति छ, न त उपकरण नै । ज्यान गुमाउने र घाइते हुनेमध्ये धेरैजसो डढेलो निभाउने क्रममै दुर्घटनामा परेका हुन् । कठिन भूगोलमा स्याउला लिएर आगो निभाउन जानु अत्यन्तै जोखिमपूर्ण काम हो । सशस्त्र प्रहरी बलको फायर फाइटिङ समूहमा कार्यरत प्रहरी सहायक निरीक्षक राम तामाङ डढेलो निभाउन जाँदा सामान्य गल्तीले पनि ज्यान जाने खतरा रहेको बताउनुहुन्छ ।

भौगोलिक विकटताका कारण जङ्गलमा लागेको आगो निभाउन मुस्किल पर्छ । डढेलो बस्ती छेउमा आउन थालेपछि मानिसहरू आत्तिएर निभाउने कोसिस गर्छन् । तर डढेलो कसरी निभाउने भन्ने सीप र उपकरण नहुँदा डढेलो निभाउनै सकिँदैन । यही कारण मानिसहरू आगोमा जल्ने वा धुवाँमा निसास्सिएर ज्यानसमेत गुमाउने अवस्था आउन सक्छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवम् डढेलोविद् सुन्दर शर्मा दक्ष जनशक्ति र उपकरणको अभावकै कारण डढेलो निभाउन समस्या रहेको बताउनुहुन्छ ।

नेपालमा हरेक सुक्खायाममा डढेलोका घटनाहरू बढ्दै गएका छन् । वैशाखको दोस्रो हप्ता त डढेलोको जोखिम उच्च विन्दुमा पुग्छ । घाँस पलाउने आशामा लगाइने आगो अनियन्त्रित भएर होस् वा अन्य कारणबाट लाग्ने आगो सुक्खाका कारण जङ्गलमा चाँडो फैलने भएकोले वैशाख, जेठमा जोखिम धेरै हुन्छ ।

खेती गर्ने क्रम घट्दा बस्ती छेउसम्म जङ्गल फैलनु, स्याउला पत्कर कम सङ्कलन हुँदा जङ्गलमा इन्धनको मात्रा बढ्नु लगायतका कारण बर्सेनि डढेलोको जोखिम बढिरहेको छ । तर डढेलो लागेपछि निभ्नका लागि कि त जङ्गल सकिनुपर्छ वा पानी पर्नुपर्छ । नेपालमा डढेलो निभाउका लागि हेलिकप्टर अत्यावश्यक रहेको डढेलोबारे अध्ययन गर्नुभएका वायु गुणस्तरविज्ञ डा. भूपेन्द्र दास बताउनुहुन्छ ।

एकातिर सरकारको उदासीनता‚ कानुनी अस्पष्टता‚ जलवायु परिवर्तन, परम्परागत ज्ञान प्रयोगमा कमी लगायत कारणले नेपालमा डढेलोका घटना बढिरहेका छन् । सँगै डढेलो नियन्त्रणका लागि छुट्टै निकाय, स्पष्ट कार्ययोजना र स्रोत साधन छैन । वन डढेर हुने क्षतिलाई बेवास्ता गरेर बस्ती वा अरू सम्पत्ति जोगाउने प्रयास गर्दा पनि बर्सेनि धेरैले ज्यान गुमाइरहेका छन् । आगो निभाउने दक्ष जनशक्ति, उपकरण वा सरकारको स्पष्ट योजना नभएको अवस्थामा डढेलो हुनै नदिनका लागि जनचेतना र समुदायको परिचालन नै महत्त्वपूर्ण रहेको डढेलोविज्ञ सुन्दर शर्मा बताउनुहुन्छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया