सामसुम पार्न छामछुम समिति

 जेठ ६, २०८१ आइतबार १५:३४:३ | मिलन तिमिल्सिना
unn.prixa.net

सर्पको खुट्टो सर्पले देख्छ भने पनि देखेको त कसले पो छ र ? तर चोरलाई चोरले चिन्छ भन्ने चाहिँ सबैलाई थाहा छ । बेलाबेला चटक देखाइरहने नेताहरूले यसपालि चोरले चोर चिनेझैँ एक–अर्काको पोल खोलाखोल गरे ।

‘हामीले खाँदै आएको भाग खोस्न आएको होइनस् ? पख् तेरो पोल नखोलेसम्म बाटै छोड्दिनँ !’

‘तैँले मात्रै खान हुने, हामीले चाहिँ सुँघ्न पनि नहुने ? तेरो त झन् शाखासन्तान सबैले खाएको एकएक हिसाब छ । सबै खुलाइदिउँ ?’

‘हामी त खानकै लागि आएको हो, खान्छन् भन्ने सबैलाई थाहा छ । तर तँ खान पनि दिन्नँ, खाँदा पनि खान्नँ भनेर आएको होइनस् ? हामीले भन्दा बढ्ता खान खोज्ने ? हामीलाई भाग नराख्ने ?’ ‘तिमीहरूले जति खाएको प्रमाण देखाउन सक्छौ ?’

‘भो भो योभन्दा बढ्दा बोल्न पाउँदैनस् ? पहिले बोल्ने गरेको ठाउँमै गएर बोल् ? यो त हाम्रो ठाउँ हो ?’

‘साँच्चै बोल्न दिँदैनस् ?’

‘दिन्न के गर्छस् ?’

‘ल आइज कि तँ छैनस्, कि म ?’

‘ल ल के गरेको बूढो मान्छेलाई ?’

‘बूढो मान्छे भएर निहुँ खोज्ने त ?’

‘हैन हैन के गरेको भन्या ? देख्नेहरूले के भन्लान् ?’

‘के भन्छन् र ? रमाइलै भएको छ नि हेर्नेहरूलाई । मनोरञ्जन त मिलेको छ ।’

‘ल ल यसपालि योभन्दा धेरै मनोरञ्जन नगरौँ । छामछुम समिति बनाऔँ ।’

‘छानबिन कि छामछुम ?’

‘साँच्चिकै छानबिन गर्दा त फेरि हाम्रोतिरको लहरो पनि तानिएला । अहिलेलाई यसो छानबिन गरेजस्तो हुने छामछुम मात्रै गर्ने हो क्या ।’

‘ल ल हुन्छ छामछुम गरौँ र छिटै सामसुम पारौं । यहाँ गाह्रो भइसक्यो ।’

त्यसपछि हेर्ने मान्छेहरूलाई नयाँ स्वाद आउने गरी नेताहरूले जाल बुने र माछा भएका ताल हेरेझैँ गरे । यसअघि पनि जालमा ठूला माछा पार्नुपर्ने दबाब बढेपछि यस्तै तमासा देखिएको थियो ।
पहिला ललिता निवासको पोखरीमा जाल तेर्सियो । मान्छेहरू वाहवाह भन्दै हेर्न थाले । माछैमाछा भएको पोखरीमा झ्याम्म जाल हान्दा हेर्नेहरूले परर ताली पड्काए । हेर्दाहेर्दै पूर्वसचिवसहित ठूल्ठूला व्यापारी, व्यवसायी पनि जालमा परे । एउटै जालमा साना, मझौला, ठूला सबै खालका माछा परेको देखेपछि हेर्नेहरूका आँखा तेजिला भए । जाल हान्नेहरूका नाक ठूला भए । तर अर्कोपटक यही पोखरीमा जाल हान्दा दुई जना पूर्वप्रधानमन्त्री पनि पर्ने डर भयो । आफ्नै सहयात्री, अहिले आफूले समातेपछि उसले पनि छोड्दैन । अर्को पोखरीमा त आफ्नो पनि नाम छ । आफू नभएको पोखरीमा अहिले जाल हान्दा उसलाई समातेपछि भोलि उसले यसैगरी जाल हान्दा आफू परिन्छ । त्यसपछि जाल हान्नेले हतारहतार सुनपानी र गहुँत छर्किए । हेर्दाहेर्दै ललिता निवासको हल्लखल्ला सामसुम भयो ।

मान्छेहरूलाई फेरि रमाइलो चाहियो । अनि ठूला माछा समातेको चटक देखाउनेहरूले नक्कली भुटानी शरणार्थीको अर्को ठूलो पोखरीमा जाल हाने । त्यहाँका माछा झनै ठूल्ठूला र खाइलाग्दा । कोही पूर्वमन्त्री, कोही बहालवाला सचिव । विज्ञदेखि बिचौलियासम्म । समातिनेमध्ये केहीको अनुहार आफैँसँग मिल्यो, केहीको आफूलाई टेका दिने सहयात्रीसँग । अर्को जाल हान्दा आफैँ पनि फस्ने डर भएपछि त्यहाँ पनि जालमा पर्न बाँकी भएकाहरूलाई हतारहतार सुनपानी छर्कने काम भयो । हिरासतमा पुगेकामध्ये केही ठूलालाई धरौटी नामको गहुँत छर्कियो । हिरासतबाट छुटेका ठूला माछा अहिले ज्यानमा छर्केको त्यही गहुँत देखाउँदै निष्फिक्री हिँडिरहेका छन् ।

त्यहीबेला विमानस्थलमा सुनका माछा सलबलाए । कर्मचारीदेखि सुरक्षाकर्मीसम्म, भरियादेखि व्यापारीसम्म जसको अनुहार हेर्दा पनि पहेँलपुर । केही सुन माछा समातेर हेर्दा उनीहरूको गुण आफ्नै दाहिने हातसँग मिल्ने । दाहिने हातका छोरै समातिए । सुनको पोखरीमा जाल हान्दा आफ्नै दाहिने हात पनि जल्ने भएपछि त्यहाँ सुनमा पानी मिसाएर थामथुम पारियो ।

एउटा पोखरीमा जाल हान्ने, एकछिन खैलाबैला गर्ने, फेरि उतिखेरै थामथुम र सामसुम पारेर अर्को पोखरी ताक्ने सिलसिला बाँसबारी छाला जुत्ता कारखानासम्म पुग्यो । यहाँ पनि ठूलै माछा समातियो भनेर हेर्नेहरूले स्वाद माने । हेर्नेहरूको स्वादले मात्रै आफ्नो कुर्सी टिक्ने भए त जालमा परेका ठूला माछा हेर्दै मज्जाले बस्नुहुन्थ्यो नि । तर के गर्नु कुर्सीमा टेको दिनेहरूको गाली र दबाबले बसिखान सकिँदैन । टेको दिनेहरूको कुरो नसुन्दा कुर्सीको खुट्टा भाँचिन्छ । खुट्टा भाँचिएपछि कुर्सी ढल्छ । कुर्सी ढल्यो भने के गरेर बस्नु, सधैँभरि कुर्सीमा बसेर कुम हल्लाउने बानी परिसक्यो । फेरि अर्को मान्छे कुर्सीमा बसिहाल्यो भने आफ्नो माछा पोखरीमा उसैले जाल हान्ने र आफू परिने डर । त्यसपछि यहाँ पनि जग्गा फिर्ता गरेर सुनपानी र गहुँत छर्कने प्रक्रिया शुरु भयो ।

वाहवाही कमाउन अरू काम गर्न सकिएन । आफू र आफ्ना मान्छे नमिसिएको प्रकरण खोतल्दा मात्रै पनि मान्छे रमाउँदा रहेछन् । त्यसैले अहिले बेलाबेला थरीथरीका प्रकरण प्रकट हुन्छन् । एउटा प्रकरणमा मुछिएकोले अर्को प्रकरणमा मुछिएकालाई चोर औँला ठड्याउँछ । छानबिन गर भनेर बुरुक्क उफ्रन्छ । आफ्नो नाम आएपछि थचक्क बस्छ ।

एकथरी उफ्रिरहँदा र अर्कोथरी थचक्क बसिरहँदा छानबिनका लागि समिति बन्छ । फाइल खुलेपछि हल्लाखल्ला हुन्छ । ठूल्ठूलाको नाम जोडिने बित्तिकै फेरि सबै चुपचाप हुन्छन् । अनुसन्धान मोडिन्छ । एउटा प्रकरण तात्छ, त्यो सेलाउन नपाउँदै अर्को तातिन्छ । नयाँले पुरानालाई ओझेलमा पार्छ ।

२०४६ सालपछिका केहीबाहेक अहिले भएका सबै ठूलाबडाहरूका ‘ठूला माछा’ भनिने नाम कुनै न कुनै पोखरीमा डुबुल्की मारेकै छन् क्यारे । त्यसैले ठूला माछा समातेजस्तो गर्दै सुनपानी छर्केर उम्काउने सिलसिला लम्बेतान तन्किने नै छ । सामसुम पार्न छामछुम गर्ने सिलसिलाको बीचबीचमा अझै कति चटक हेर्न पाइएला !

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया