सुदूरपश्चिमका ७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर

 जेठ ७, २०८१ सोमबार ९:३५:४८ | रासस
unn.prixa.net

फाइल तस्बिर

 कैलाली – सुदूरपश्चिम प्रदेशमा अझै पनि ७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँचमा पुग्न सकेका छैनन । खानेपानी आयोजनाद्वारा निर्मित ‘फिल्टर’ जडानसहितको पाइपलाइनबाट वितरित उच्च गुणस्तरको खानेपानीको पहुँचमा २५ प्रतिशत नागरिक मात्रै रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीले जनाएको छ ।

कार्यालयका प्रमुख गणेशप्रसाद उपाध्यायले झन्डै ४० प्रतिशत नागरिकले पाइपलाइनबाट वितरित फिल्टर जडान नभएको खानेपानी र हेन्डपम्पको खानेपानी उपभोग गरिरहेको बताउनुभयो । भौगोलिक रुपमा विकट पहाडी भेगमा उच्च गुणस्तरको खानेपानीको समस्या बढी देखिएको छ ।

तराई भेगका धेरैजसो बस्तीमा पनि यस्तो पानीको व्यवस्था हुन सकेको छैन । जलवायु परिवर्तनको असरले पहाडी क्षेत्रमा खानेपानीका मूल सुक्दै जाने, बाढी पहिराले पुरिनेजस्ता समस्या पनि बढ्दै गएको छ । तराई क्षेत्रका अधिकांश ग्रामीण बस्तीका नागरिकले हेन्डपम्पको पानी उपभोग गर्ने गरेका छन ।

चार दशकअघिसम्म भूमिगतको पानी निकालेर खानेपानीको व्यवस्थापन गर्न गाउँगाउँमा खनिएका कुवा, इनार भने अहिले बन्द भइसकेका छन् । कुवाको विकल्पमा हेन्डपम्प जडान गर्ने गरिएको छ । पछिल्ला वर्षमा ग्रामीण क्षेत्रमा पनि खानेपानीका योजनाहरु निर्माणका क्रम बढेको भए पनि पर्याप्त बजेटको अभावमा यी योजनाको भौतिक प्रगति सुस्त छ ।

अहिले कैलाली र कञ्चनपुर जिल्लामा मात्रै सङ्घीय सरकारका एक सय आठ र प्रदेश सरकारका ६९ वटा खानेपानी आयोजना निर्माणाधीन छन् । कतिपय क्षेत्रको पानीमा चुनाको समस्या र आर्सेनिक तत्वको समस्या देखिने गरेको छ । भूमिगतको पानीमा आइरनको मात्रा बढी हुने गरेकाले यस्तो पानी परीक्षण गरेर मात्र पिउनुपर्ने सम्बन्धित विज्ञको भनाइ छ । 

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया