कामीरिता शेर्पा ३० औँ पटक सगरमाथा शिखरमा

 जेठ ९, २०८१ बुधबार १३:११:२२ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ  – कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गर्नुभएको छ । सगरमाथा आधार शिविरमा रहेकाे पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उहाँ आज बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुग्नुभएको हो ।

वसन्त ऋतुको जारी आरोहणमा उहाँले यसअघि धेरै पटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको कीर्तिमान तोडेर नयाँ रेकर्ड कायम गर्नुभएको छ । यसअघि उहाँले वैशाख ३० गते २९ औँ पटक सगरमाथा आरोहण गर्नुभएको थियो । गौतमकाअनुसार आजसम्म आरोही र शेर्पा सहयोगी गरी चार सय ६० जनाभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् ।

सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका थामेका ५४ वर्षीय कामीरिता कुशल पर्वतारोही पथप्रदर्शक हुनुहुन्छ । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुग्नुभएका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।

सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने एकमात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुनुहुन्छ । अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्नुभएको थियो । गएको वैशाख २८ गतेदेखि यो वर्षको आरोहण शुरु भएको हो ।

आरोहणका लागि ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका छन् । अनुमति लिएकामध्ये ७५ प्रतिशतले सफल आरोहण गरेका जनाइएको छ ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया