ठूला होटल खुलेसँगै चितवनमा विदेशी पर्यटकको सङ्ख्या बढ्यो

 जेठ १३, २०८१ आइतबार १५:६:२ | रासस
unn.prixa.net

फाइल फाेटाे

चितवन – ठूला होटल खुलेसँगै चितवनका पर्यटकीयस्थलमा विदेशी पर्यटकको सङ्ख्या बढेको छ । चितवन राष्ट्रिय निकुञ्जभित्रका होटल बन्द भएपछि विदेशी पर्यटकको सङ्ख्या घटेको थियो । भर्खरै सञ्चालनमा आएका ठूला होटलले निकुञ्जभित्रकै अनुभूति हुने गरी पर्यटकलाई सेवा दिन थालेपछि पर्यटकको सङ्ख्या वृद्धि भएको हो । 

निकुञ्ज स्थापना हुनुअघि खुलेको टाईगर टप्स होटलसमेत बन्द छ । पछिल्लो समय सौराहा नजिकै खैरहनीको हर्नरीमा होटल सिद्धार्थ भिलासा वनबास सञ्चालनमा आएको छ । होटल प्रवेश गर्दा निकुञ्जभित्रकै झल्को दिने गरी निर्माण गरिएको छ ।

होटलका महाप्रबन्धक प्रकाश न्यौपानेले निकुञ्जभित्रको अनुभूति दिलाउने भएकाले खर्चिला विदेशी पर्यटक आएको बताउनुभयो । उहाँको भनाइमा दुई रातका लागि एक जना पर्यटकले सजिलै दुई सय ५० अमेरिकी डलर तिर्ने गरेका छन् । होटलमा आउने पर्यटकमध्ये आधाभन्दा बढी विदेशी छन् । अमेरिका, जर्मन, क्यानडा, अष्ट्रेलिया, चीन, भारतलगायतका देशबाट पर्यटक आउने गरेको उहाँले जानकारी दिनुभयो ।

वरिपरी जङ्गलले घेरिएको रिसोर्टभित्र रुख बिरुवाले निकुञ्जको झल्को दिने गर्दछ । तीन बिघा १० कठ्ठा क्षेत्रफलमा फैलिएको रिसोर्टमा ४० वटाभन्दा बढी प्रजातिका रूखबिरुवा छन् । होटल वरिपरि मध्यवर्ती सामुदायिक वन क्षेत्र भएकाले होटलको रेष्टुराँबाट गैँडा, मृग लगायतका जङ्गली जनावर चर्दै गरेको देख्न पाइन्छ । ४५ करोड रुपैयाँभन्दा बढी लगानीमा खुलेको यो होटल गएको दशैंदेखि सञ्चालनमा आएको हो । यहाँ एक जोडी नेपालीले एक रात बस्न १० हजार रुपैयाँ तिर्नु पर्दछ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी सुविधासम्पन्न होटल नहुँदा अन्य देश जान थालेका पर्यटक फेरि चितवन आउने क्रम बढेको बताउनुहुन्छ । भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ डाक्टर विश्व सुवेदीले ठूला होटल खुलेसँगै खर्चिला पर्यटक आउन थालेको बताउनुभयो ।

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ । 

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया