पहाडमा वर्षा र तराईमा अध्यधिक गर्मीको सम्भावना

 जेठ २८, २०८१ सोमबार ९:१६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज पहाडका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका थोरै  ठाउँहरु तथा बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरुमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार तराईका ठाउँहरुमा अत्यधिक गर्मीको सम्भावना छ । अस्ति शनिबार र हिजो आइतबार पानी नपरेपछि देशैभर गर्मी बढेको छ । हिजो काठमाण्डौ उपत्यकाको तापक्रम ३३ दशमलव ८ डिग्री सेल्सियस पुगेको छ । धनगढीको तापक्रम ४२ दशमलव ९ डिग्री सेल्सियस र नेपालगन्जको तापक्रम ४२ दशमलव ६ डिग्री सेल्सियस पुगेको छ ।

दिपायल र वीरेन्द्रनगरको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । तराईमा अझै केही दिन अत्यधिक गर्मीको सम्भावना रहेको विभागले जनाएको छ । विभागले तराईमा विभिन्न ठाउँमा आज पनि तातो हावासँगै तातो लहरको लहर ‘लू’ को सम्भावना रहेकाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन  अनुरोध गरेको छ ।

तातो हावाको लहरबाट हुने सम्भावित असरमा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुनेलगायत समस्या देखिने डाक्टरहरुले बताएका छन् ।

तातो हावाकाे लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्रै वा चिसो ठाउँमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नहिँड्ने, हल्का सुतीका कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिने गर्नुपर्छ । केही दिनमै मनसुन भित्रने भएकाले गर्मी घट्ने मौसमविदको भनाइ छ ।  

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया