यस वर्षको मनसुन नेपाल भित्रियो

 जेठ २८, २०८१ सोमबार १४:५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – यस वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन अगाडि नै नेपाल भित्रिएको छ । नेपालमा सरदर जुन १३ मा मनसुन प्रवेश गर्ने भए पनि यसपालि तीन दिन छिटो आइपुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पूर्वी भेगबाट प्रवेश गरेको मनसुन बिस्तारै अन्य भू–भागतिर अगाडि बढ्ने छ ।

गएको वर्ष एक दिन ढिला गरेर मनसुन नेपाल प्रवेश गरेको थियो । नेपालमा औसतमा जुन १३ मा शुरु भएर अक्टोबर २ सम्म सरदर एक सय १२ दिन मनसुन रहन्छ ।

मनसुन भनेको हावा वहने दिशा परिवर्तन हुनु हो । मनसुन सामान्यतया एशिया र दक्षिणपूर्वी एशियामा सम्बन्धित छ । भारतीय उपमहाद्वीपमा हुने उच्च तापमानले बङ्गालको खाडीबाट मनसुनी हावा आउने गर्छ । हिन्द महासागरको पानी वाफ बनेर हावामा मिसिन्छ । वाफसहितको हावा भारत, नेपाल, श्रीलङ्का र बङ्गलादेशलगायतका देशतर्फ वहन्छ । तातो हावा चिसिएपछि पानी पार्छ । हिउँदयाममा फेरि हावाको दिशा परिवर्तन हुन्छ र मनसुन हिन्द महासागरतर्फ जान्छ ।

मनसुन भन्ने बित्तिकै धेरै मानिसले भारी वर्षा भनेर सोच्ने गर्छन् । तर यो हावाको दिशा परिवर्तन मात्रै भएकाले मनसुनले सुक्खासमेत गराउन सक्छ । नेपालको सन्दर्भमा बङ्गालको खाडीबाट आउने हुँदा जलवाष्पयुक्त हावा धेरै हुन्छ । त्यसैले यहाँ चिसिएपछि बदली र वर्षाको सम्भावना धेरै हुन्छ ।

नेपालमा कृषिका लागि मनसुन आवश्यक छ । कैयौँ ठाउँहरूमा सिँचाइको सुविधा उपलब्ध नहुँदा वर्षामै निर्भर हुनुपर्छ । धान, कोदोलगायतका खेतीसँगै बिजुली उत्पादनका लागि पनि मनसुनी वर्षा आवश्यक छ । मनसुन कमजोर र ढिला भित्रिँदा कृषि उत्पादन र अन्य आर्थिक गतिविधिमा ठूलो क्षति हुने गरेको छ । तर पछिल्लो समय मनसुन भन्नासाथ कृषि प्रणालीभन्दा पनि बाढी, पहिरोलगायतका प्रकोपको चिन्ता धेरै हुने गरेको छ । कुनै ठाउँमा एकै पटक धेरै पानी पर्ने, मनसुनको शुरुमै हिमालतिर पानी पर्ने लगायतका परिवर्तन र सडकलगायतका विकासका कामले बाढी, पहिरोको जोखिम बढाउँदा नेपालमा मनसुनको सम्बन्ध धेरै विपद्सँग देखिन थालेको हो ।

जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा ३५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म बढी पानी पर्ने अनुमान गरेकाे छ । पानी धेरै पर्ने अनुमानसँगै गृह मन्त्रालयले विपद‍्बाट हुने क्षति घटाउनेसहित उद्धार र राहतका लागि कमान्ड पोस्ट नै स्थापना गरेर काम शुरु गरेको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया