युरोपेली सङ्घले पनि चिनियाँ विद्युतीय गाडीको आयातमा कर बढाउने

 जेठ २८, २०८१ सोमबार १८:३०:५४ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

अमेरिकापछि अब युरोपेली सङ्घ (ईयू) ले पनि चिनियाँ विद्युतीय गाडीको आयातमा कर बढाउने भएको छ । चिनियाँ विद्युतीय गाडीमा कति आयात शुल्क बढाउने भन्ने निर्णय आउँदो हप्ता हुन सक्ने समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि अमेरिकाले चिनियाँ विद्युतीय गाडीमा सय प्रतिशतसम्म कर लगाउने निर्णय गरिसकेको छ । अब युरोपेली सङ्घले पनि कर बढाउने घोषणा गरेपछि चीन र युरोपेली सङ्घबीच विवाद बढ्ने सम्भावना रहेको छ । चीन सरकारले अनुदान दिएपछि चिनियाँ विद्युतीय गाडीले युरोप र अमेरिकामा बजार तताइरहेका छन् ।

नयाँ–नयाँ प्रविधिका सस्ता चिनियाँ कारका कारण आफ्नो देशका उत्पादन समस्यामा परेको, रोजगारीमा असर परेको र समग्र अर्थतन्त्रमा नै समस्या देखिएको भन्दै अमेरिकाले चिनियाँ विद्युतीय गाडी, ब्याट्री, सोलार प्यानल लगायतमा कर बढाएको थियो ।

अहिले युरोपेली सङ्घले पनि यस्तै कारण देखाएको छ । युरोपेली सङ्घले चिनियाँ विद्युतीय गाडीमा कर बढाएमा चीनले पनि युरोपेली वस्तुको शुल्क बढाउने तयारी गरेपछि दुवै पक्षबीच व्यापार युद्ध बढ्ने देखिएको बेलायतको पत्रिका गार्जियनले जनाएको छ । चीनले शुरुमा युरोपेली दुग्धजन्य पदार्थ र रक्सीमा कर बढाएर जवाफ दिने सङ्केत गरेको छ ।

गएको महिना पेरिसमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेनले विश्वले चीनको अधिक उत्पादनलाई धान्न नसक्ने बताउनुभएको थियो ।

अहिले युरोपेली देशमा बनेका विद्युतीय गाडीभन्दा चीनबाट जाने गाडीको मूल्य झन्डै ५० प्रतिशतले कम छ । तर चीनले भने आफ्नो अटोमोबाइल क्षेत्रलाई अनुदान नदिएको र यदि कुनै राज्यले अनुदान दिएको भए पनि यसले पश्चिमका देशहरूलाई हरित ऊर्जा प्रयोगको लक्ष्य भेटाउन सहयोग नै गर्ने बताएको छ ।

विद्युतीय गाडी र ब्याट्रीको उत्पादनको परिमाण हेर्दा चीनले हरित व्यापारको साम्राज्य फैलाउन खोजेको पुष्टि हुने युरोपेली विश्लेषकले बताएका छन् ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया