आम्दानीभन्दा खर्च धेरै हुँदा सरकारको ढुकुटी २ खर्ब रुपैयाँभन्दा धेरैले घाटामा

 असार २, २०८१ आइतबार १८:१४:४० | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – आम्दानीभन्दा खर्च धेरै हुँदा सरकारको ढुकुटी दुई खर्ब रुपैयाँभन्दा धेरैले घाटामा गएको छ । राजस्व, आन्तरिक ऋण, वैदेशिक ऋण र अनुदानबाट जुटाएको रकमभन्दा चालू, पूँजीगत तथा वित्तीय व्यवस्थापनलगायतमा खर्च बढी हुँदा सङ्घीय सरकारको सञ्चित कोष घाटामा गएको हो ।

चालू आर्थिक वर्षको ११ औँ महिना अर्थात् जेठ मसान्तसम्म सङ्घीय सरकारको सञ्चित कोष दुई खर्ब चार अर्ब रुपैयाँले घाटामा रहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । सञ्चित कोष घाटामा भए पनि नेपाल राष्ट्र बैंकमा रहेको सरकारको खातामा विभिन्न कोष, धरौटी तथा कर विवादका रकम रहेकाले अहिलेसम्म काम चलिरहेको महालेखा नियन्त्रकको कार्यालयका एक जना अधिकृतले बताएका छन् ।

११ महिनामा कर र गैरकर राजस्व तथा अन्य प्राप्तिबाट नाै खर्ब १९ अर्ब रुपैयाँ सङ्कलन भएको छ । यस्तै आन्तरिक ऋणबाट दुई खर्ब ३५ अर्ब रुपैयाँ, वैदेशिक ऋणबाट ७३ अर्ब ४६ करोड रुपैयाँ तथा वैदेशिक अनुदानबाट दुई अर्ब ७५ करोड रुपैयाँ सङ्कलन भएको छ ।

सरकारले ११ महिनामा खर्च भने ११ खर्ब ८१ अर्ब रुपैयाँ गरेको छ । जेठ मसान्तसम्म सरकारले चालू शीर्षकमा आठ खर्ब २२ अर्ब ८० रुपैयाँ अर्थात् ७२ दशमलव ८ प्रतिशत खर्च गरेको छ । यस्तै विकास बजेट वा पूँजीगत शीर्षकमा एक खर्ब ३४ अर्ब ४९ करोड रुपैयाँ अर्थात् ४४ दशमलव ६८ प्रतिशत तथा वित्तीय व्यवस्थापन शीर्षकमा दुई खर्ब २३ अर्ब रुपैयाँ अर्थात् ७२ दशमलव ७ प्रतिशत खर्च गरेको छ ।

अब असारमा सरकारी खर्च धेरै हुने भएकाले राजस्व पनि बढ्ने अर्थ मन्त्रालयको दाबी छ । अर्थतन्त्रमा सुधार हुन नसक्नुमा सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्र कमजोर रहेको भन्दै आलोचना भइरहँदा पूँजीगत खर्चको अवस्था कमजोर देखिनु, चालू र वित्तीय व्यवथा शीर्षकको खर्च बढ्दै जानु, लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसक्नु तथा वैदेशिक अनुदान उठाउन नसक्नु प्रमुख समस्याका रूपमा देखिएका छन् ।

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया