मनसुन देशभर फैलिए पनि पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

 असार ११, २०८१ मंगलबार ८:२१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – मनसुन देशभर फैलिएपनि पूर्णरुपमा सक्रिय हुन अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी प्रणाली फैलिएपछि पानी नै पर्छ भन्ने चाहिँ नहुने मौसमविद्ले बताएका छन् ।

दुई हप्ताअघि पूर्वबाट नेपाल प्रवेश गरेको मनसुन देशभर फैलिन १५ दिन लाग्यो । मनसुन हिजो मात्रै देशभर फैलिएको हो । तर अझै पनि मनसुन कमजोर नै हुँदा सक्रिय भएर पानी पर्न अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ ।

मनसुन सक्रिय भएपछि बाढी, पहिरो, डुबान, भू–क्षय जस्ता कारणले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्र प्रभावित हुन सक्ने भन्दै महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ । आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम आंशिकदेखि साधारणतया बदली छ । कोशी, बागमती र कर्णाली प्रदेशका साथै गण्डकी र लुम्बिनीका एक–दुई ठाउँमा रातिदेखि चट्याङसहित हल्का तथा मध्यम वर्षा भइरहेको छ ।

पछिल्लो पटक सबैभन्दा धेरै दाङको घोराहीमा ३० दशमलव ९ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ ।

पानी परेसँगै केही सितल हुन थालेपछि चर्को गर्मीका कारण प्रभावित भएका धेरै ठाउँको जनजीवन सामान्य हुन थालेको छ । काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम हिजो २२ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ भने आज अधिकतम तापक्रम ३२ दशमलव १ डिग्रीसम्म पुग्ने अनुमान छ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया