कोही मुक्त कमैया अघि बढे, कोही अझै पनि समस्यामै

 मंसिर ५, २०७५ बुधबार १०:४२:४ | भावुक योगी
unn.prixa.net

बर्दिया – कमैया मुक्त घोषणा भएको पनि १८ वर्ष पुगिसकेको छ । दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने कमैयाहरुका लागि २०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गरेको थियो । 

सरकारले पुनःस्थापनाको काम पनि सुरु गर्‍याे । बर्दिया र कैलाली जिल्लामा अझै केही मुक्त कमैया पुनःस्थापना हुन बाँकी छन् । सरकारले जग्गा, घर बनाउन नगद र काठ पनि दिने घोषणा गरेको थियो । तर धेरैले जग्गा मात्र पाएको गुनासो गरिरहेका छन् । 

पुनःस्थापना सँगै शिक्षा, स्वास्थ्य, रोजगार जस्ता अधिकारबाट समेत वञ्चित छन् । सुरुसुरुमा पुनःस्थापना भएका केही मुक्त कमैयाको जीवनस्तरमाथि उठेको छ भने केही कमैयाहरु अझै पनि समस्यामै छन् ।

बर्दियाका मुक्त कमैयाहरुको पुनःस्थापना कहिले सकिन्छ ? अनि उनीहरुको आर्थिक, सामाजिक र राजनीतिक अवस्था कस्तो छ ? बर्दियाका मुक्त कमैयाकाबारेमा लामो समयदेखि भूमिसुधार कार्यालयमा कार्यरत ओमप्रसाद गौतमसँग बर्दियाका उज्यालो सहकर्मी भावुक योगीले कुराकानी गर्नुभएको छ :

बर्दियामा मुक्त कमैया कति हुन् ? अहिलेसम्म कतिलाई पुनःस्थापना सकियो ? र अब पुनःस्थापना गर्न कति बाँकी छन् ?

बर्दियामा सुरुमा १६ हजार २ सय ६२ जनाले मुक्त कमैयाका लागि दरखास्त आह्वान गरेका हुन् । त्यसमा पुनःस्थापना गर्नु भनेर ११ हजार ८ सय ७५ जनालाई रातो र निलो कार्ड वितरण गर्ने भनेपछि निर्णय भएको हो ।

त्यसमध्ये १० हजार ७ सय ९७ जनाले कार्ड प्राप्त गरेको अवस्था छ । त्यसपछि कोही लिन आएनन् र लामो समयसम्म पनि नआएर २०६८ सालदेखिका बाँकीलाई कार्ड पनि वितरण गरिएको छैन ।

कति जना छन् परिचय पत्र नलिएका ?

बर्दियामा ११ हजार ८ सय ७५ मुक्त कमैया हुन् । १० हजार ७ सय ९७ जनाले परिचय पत्र पाए भने त्यसमध्ये कोहीको मृत्यु भयो होला, कोही गाउँ छोडेर गए होलान् अथवा अन्त कतै बसाईँ सरेर गएको पनि हुन सक्छ । अथवा के भयो थाहा भएन ।

परिचय पत्र नलिएकाहरु १ हजार ७८ जना अहिलेसम्म पनि सम्पर्कमा छैनन् । अहिलेसम्म हामीले १० हजार ७ सय १४ जना मुक्त कमैयालाई पुनःस्थापना गरिसक्यौँ, अब पुनःस्थापना हुन बाँकी परिचय पत्र लिएका ८३ जना मात्रै छन् । 

अनि अब ८३ जनाको कहिलेसम्म पुनःस्थापना सकिएला ?

अब ८३ जनामध्येबाट पनि अहिले हामीसँग सम्पर्कमा आएका १५ जना मात्रै छन् । अरु सम्र्पकमा आएका छैनन् । पुनःस्थापना हुन बाँकी ८३ जना परिचय पत्र लिएकामध्ये सम्पर्कमा आएका १५ जना छन् । १५ जनालाई यो वर्षको चैतभित्र पुनःस्थापना गराउने तयारी छ । 

हामीले आफ्नो कार्यालयबाट कर्मचारी खटाएर सोधखोज गर्दा पनि अझै लगभग ६८ जना जति सम्पर्कविहीन नै छन् । सम्पर्कमा आउन सूचना जारी गर्ने तयारी हामीले गरिरहेका छौँ । ३५ दिने सूचना निकाल्छौँ, सम्पर्कमा नआए लगत कट्टा गर्ने निर्णय भएको छ ।

परिचय पत्र पाएका ८३ जना बाँकीमध्ये १५ जना भन्नुभयो । यो वर्षभित्र पुनःस्थापना हुन्छन् त ?

यो वर्ष दोस्रो चौमासिक अवधिसम्म फागुनभित्रै बाँकी रहेका मुक्त कमैयालाई पुनःस्थापना गरिसक्छौँ ।

उनीहरुलाई जग्गा सँगसँगै पाउनुपर्ने अरु आधारभूत कुराहरु जस्तो काठ र घर बनाउने खर्च पनि पाएका छैनन् भन्ने गुनासो छ । पहिलाका कति कमैयाले पाएनन् र नयाँ कतिले पाए ?

पुनःस्थापना भएकामध्ये २०७२ साल भदौ १४ गते अगाडि पुनःस्थापना हुने मक्त कमैयाहरुलाई घर निर्माणका लागि १० हजार र ३५ क्युफिट काठ उपलब्ध गराउने नीति बन्दै आएको थियो । पछिल्लो चरणमा जिल्ला वन कार्यालयबाट मुक्तकमैयाले पाउनुपर्ने काठ पाउन नसकेपछि पछिल्लो चरणमा आएर सरकारले काठ किन्नका लागि एक लाख रुपैयाँ अनुदान दिने निर्णय गर्‍याे । 

त्यही अनुसार नयाँ पुनःस्थापना हुनेलाई काठको एक लाख रुपैयाँ र घर बनाउन १० हजारबाट बढाएर ५५ हजार रहेको छ । त्यो घर निर्माणको ५५ हजार दिने गरेका छौँ । र पुराना जुन मुक्तकमैयाहरुले घर निर्माणको उही १० हजार र काठ नपाएकाहरुले एक लाख रुपैयाँ पाउने नीतिअनुसार पुरानाहरुलाई सरकारले पठाएको पैसामध्ये गएको वर्ष १ हजार ६ सय २८ र ३ सय २५ जनालाई पैसा आएको थियो । हामीले वितरण गरिसकेका छौँ । 

सबैभन्दा पहिला जग्गा जस्ले पहिला पायो तिनीहरुलाई आधार बनाएर त्यसको आधारमा पहिलो प्राथमिकता भन्ने क्रम अनुसार हामीले बाँड्दै गइरहेका छौँ । 

काठ पाउने रकम र घर निर्माणका लागि पाउने रकम कहिलेसम्म बाँडेर सकिएला ?

घर निर्माणको रकम १० हजार हो । त्यो बाँकीलाई अहिले यो वर्ष दिन्छौँ पैसा पनि आएको छ । गएको वर्ष काठका लागि ३ सय २५ जनाको लागि मात्र आएको थियो त्यो वितरण गरिसक्यौँ । 

अब ६ हजार जति काठ पाउन बाँकी छन् तिनीहरुलाई सरकारले त रकम छुट्याएको छ । पैसा पठाउने आश्वासन पाइएको छ । पैसा पठाइदिएमा यो आर्थिक वर्ष भित्र त्यो पनि बाँडेर सकिन्छ । 

समग्रमा यतिबेला मुक्त कमैयाहरुको अवस्था के छ ?

पहिले उनीहरुको जमिनदारको घरमा बस्ने, उनीहरुकै भाँडा माझ्ने र खेतीपाती गर्ने गर्थे । मुक्त भैसकेपछि केही समय उनीहरुमा अप्ठेरो भयो । किनभने बस्ने घर थिएन । र उनीहरु जहाँ–जहाँ आफूहरुलाई पायक पर्ने ठाउँमा, बनको कुनै नजिकतिर, हैसियत बिग्रेको वनमा अथवा ऐलानीप्रति जग्गा, नदी किनारका जग्गामा बस्दै गए र पुनःस्थापित भएका कमैयाहरु पनि आफ्नो घर बनाएर बसेका छन् ।

कतिले सीपमूलक तालिम गरेर कतिले मोटरसाइकल बनाउने, कोही व्यापारी, कोही मोबाइल बनाउने तालिम लिएर आत्मनिर्भर पनि बनिसकेका छन् । लगभग ६० प्रतिशतको अवस्था राम्रो छ । ३०, ४० प्रतिशतको अवस्था भने त्यति राम्रो देखिएको छैन । 

अनि सामाजिक पक्ष हेर्ने हो भने नि ?

सामाजिक पक्षमा अहिले उनीहरु मिलेर बसेका छन् । एउटा कमैया, कमैया बस्ती जहाँ पनि पुनःस्थापित भयो । सामूहिक बस्ती बिस्तार गरेको हुनाले त्यहाँ अरु संस्थाबाट पनि केही सुविधाहरु उपलब्ध भैरहेको छ । र उनीहरु आफ्नै संस्कृति र आफ्नै उत्साहमा खुसीका साथ बसिरहेका छन् । छोराछोरीलाई पढाउनु पर्ने भन्ने भावना भएको र केही पहिला पनि बोल्न नसक्ने मुक्त कमैयाहरु पनि अहिले बोल्न र परेका पीर मर्काहरु भन्न सिधै आउने गरेका छन् ।

राजनीतिक क्षेत्रमा पनि अघि बढेका छन् । चुनावमा निर्वाचित पनि भएका छन् । मुक्त कमैया कृष्णी थारु प्रदेश सभाको समानुपातिकमा निर्वाचित हुनुभएको छ । समानुपातिकतर्फ प्रदेशसभातर्फ हाल उपसभामुख हुनुभएकी उहाँ पनि मुक्तकमैया नै हो । अनि मुक्त कमैया अगुवा लौटी थारु पनि समानुपातिकतर्फ प्रदेशसभामा निर्वाचित हुनुभएको हो । केही स्थानिय तहमा वडाअध्यक्ष, सदस्यमा पनि निर्वाचित भएका छन् ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया