आज कोशी, बागमती र गण्डकी प्रदेशका एक, दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना

 असार १७, २०८१ सोमबार ९:१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – आज कोशी, बागमती र गण्डकी प्रदेशका एक, दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। ठूलो पानी पर्ने ठाउँमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

पछिल्लो तीन घण्टामा झापाको कन्काइ मैनाचुली, मोरङको लेताङ, हरैँचा र आसपासको क्षेत्रमा सामान्यदेखि मध्यम वर्षा भएको र थप वर्षा हुने सम्भावना रहेकाले कन्काइ, बिरिङ र त्यो क्षेत्र भई बहने चिसाङखोला लगायत अरू स–साना खोलाको बहाव बढ्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा रहनेलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महशाखाले अनुरोध गरेको छ । मनसुनी प्रणाली झनै सक्रिय हुने भएकाले आउँदो बिहीवारसम्म सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले भनेको छ ।

महाशाखाका अनुसार न्यूनचापीय रेखा नेपालको दक्षिणी भूभाग, सीमा आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने भएको हो । मनसुन थप सक्रिय भई आउँदो बिहीवारसम्म देशका धेरैजसो ठाउँमा वर्षा हुने महाशाखाले विशेष बुलेटिनमार्फत जनाएको छ । बिहीवारसम्म देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको आंकलन गरिएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै ठाउँ तथा मधेस, कर्णाली र सुदूरपश्चिमका एक–दुई ठाउँमा मेघ गर्जन, चट्याङसहित मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । ठूलो पानी पर्न सक्ने र यसअघिदेखि पानी परिरहेका ३४ जिल्लालाई महाशाखाले उच्च जोखिमको सूचीमा राखेको छ ।

महाशाखाका अनुसार कोशीका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गा उच्च जोखिममा छन् । यसैगरी बागमतीका मकवानपुर, चितवन, सिन्धुपाल्चोक र दोलखा, गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवपरासी पूर्व र लमजुङमा पनि उच्च जोखिम रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लुम्बिनीका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्वमा पनि उच्च जोखिम रहेको छ । 

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया