नेपालमा पर्यटक आगमन कोरोना महामारीअघिको तुलनामा झन्डै साढे २ प्रतिशतले धेरै

जुन महिनामा साढे ७६ हजार जनाभन्दा धेरै पर्यटक आए

 असार १७, २०८१ सोमबार १५:४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – गएकाे जुन महिनामा कोरोना महामारी शुरु हुनुअघिको जुन महिनाको भन्दा झन्डै साढे २ प्रतिशतले धेरै विदेशी पर्यटक नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार हिजो सकिएको जुन महिनामा ७६ हजार ७ सय ३६ जना पर्यटक हवाई मार्गबाट नेपाल आएका हुन् । यो सङ्ख्या कोरोना महामारी शुरु हुनुअघि अर्थात् सन् २०१९ को जुन महिनाको तुलनामा २ दशमलव ४७ प्रतिशतले धेरै हो । २०१९ को मे महिनामा ७४ हजार आठ सय ८३ जना पर्यटक नेपाल आएका थिए ।

कोरोना महामारीका कारण सन् २०२० पछि देशको पर्यटन व्यवसाय धराशायी बनेको थियो । अघिल्लो वर्षदेखि सुधार हुन थालेकोमा यो वर्ष कोरोना महामारीअघिको भन्दा पनि राम्रो भएको हो ।

यस्तै गएको वर्षको जुन महिनाको तुलनामा यस वर्षको जुन महिनामा ६ दशमलव २१ प्रतिशतले धेरै पर्यटक आएका छन् । गएको वर्षको जुन महिनामा ७२ हजार २ सय ५० जना पर्यटक नेपाल आएका थिए ।

जुन महिनामा सबैभन्दा धेरै भारतबाट ३७ हजार ८ सय ३५ जना पर्यटक नेपाल आएका छन् । भारतबाट हवाईमार्ग हुँदै आउनेलाई मात्र सरकारले पर्यटकको सूचीमा राख्ने गरेको छ । तर हवाईमार्गभन्दा गाडीबाट नेपाल आउने भारतीयको सङ्ख्या निकै धेरै रहेको छ ।

यस्तै अमेरिकाबाट ८ हजार २ सय ८१ जना, चीनबाट ७ हजार ४ सय ९४ जना, बङ्गलादेशबाट ३ हजार ८ सय ५७ जना आएका पर्यटन बोर्डले जनाएको छ । यसैगरी बेलायत र उत्तरी आयरल्यान्डबाट १ हजार ९ सय ६९ जना, अस्ट्रेलियाबाट १ हजार ५ सय ८९ जना, भुटानबाट १ हजार ६६ जना, मलेसियाबाट १ हजार १४ जना, जापानबाट ९ सय ५३ जना र दक्षिण कोरियाबाट ८ सय ७५ जना पर्यटक नेपाल आएका छन् ।

समग्रमा यो ६ महिनामा ५ लाख ८३ हजार १६ जना पर्यटक भित्रिएका छन् । बोर्डको तथ्याङ्कअनुसार जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ७९ हजार ४ सय २६, मार्चमा १ लाख २८ हजार १ सय ६७, अप्रिलमा १ लाख ११ हजार ३ सय ७६ र मे मा ९० हजार २ सय ११ जना पर्यटक नेपाल आएका हुन् ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया