कोशी नदीमा पानीको सतह खतराको तहमा पुग्यो, सावधानी अपनाउन आग्रह

 असार १८, २०८१ मंगलबार ७:२३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – देशका धेरै ठाउँमा पानी परिरहेको छ । ठूलो वर्षा भइरहेका धनुषा, कैलाली, सिन्धुपाल्चोक, बर्दीयालगायतका जिल्लाका खोला र नदीमा पानीको बहाव बढेको छ । निरन्तरको वर्षाका कारण कोशी नदीमा पानीको बहाव खतरा तहमा पुगेको छ ।

यस्तै सिन्धुली, इलाम, मोरङ, सप्तरी, बारा, कञ्चनपुर, पोखरा आसपासको क्षेत्रमा पनि ठूलो पानी परिरहेकाले यस क्षेत्र भई बहने खोलाको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । पछिल्लो १२ घण्टामा धनुषामा सबैभन्दा धेरै एक सय १६ मिलिमिटर वर्षा भएको छ । कैलालीमा एक सय १२, सिन्धुपाल्चोकमा ८३ दशमलव ६ र बर्दीयामा ८० दशमलव ६ मिलिमिटर वर्षा भएको छ ।

मनसुनी वायुको प्रभावका कारण आज पनि धेरै ठाउँमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा निरन्तरजसो पानी परेको छ । लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा कोशी र मधेस प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा अति वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मनसुनी प्रणाली पर्सि बिहीवारसम्म नै सक्रिय हुने र मौसममा सुधार नआउने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । ठूलो पानी पर्ने ठाउँमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया