मनसुनजन्य विपद्‍बाट २५ दिनमा ४७ जनाको ज्यान गयाे, अबको ३ महिना धेरै पानी पर्ने

 असार २०, २०८१ बिहीबार १८:४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपालमा मनसुन भित्रिएको २५ दिनमा विपद्जन्य घटनामा परेर ४७ जनाको ज्यान गएको छ । विपद्जन्य घटनाबाट ८ करोड रुपैयाँभन्दा धेरैको क्षति भएको छ । यस्तै २५ दिनमा ४६ वटा भौतिक संरचना बाढी र पहिरोका कारण ध्वस्त भएका छन् । यही अवधिमा २ सय ५९ वटा पशुचौपाया मरेका छन् भने ४ सय वटा जलवायुजन्य घटना भएका छन् ।

जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीले अबकाे तीन महिनाभित्र नेपालमा विपद्बाट ठूलो नोक्सानी हुने देखिएको बताउनुभयो । नेपालमा गएको जेठ २८ गतेदेखि यो वर्षको मनसुन भित्रिएको थियो ।

आउँदो आइतवारसम्म ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउनुपर्ने जलवायु विज्ञ डा. उप्रेतीको सुझाव छ । उहाँले मनसुनको न्यून चापीय रेखा नेपालमा रहेकाले अब भारी वर्षा हुने बताउनुभयो । उहाँले साउन, भदौ र असोजमा भारी वर्षा हुने हुँदा त्यसले निम्त्याउन सक्ने जोखिम न्यूनीकरणका लागि सङ्घ, प्रदेश र पालिकाले समयमा नै ध्यान दिनुपर्ने बताउनुभयो ।

विज्ञ उप्रेतीले असारमा औसतभन्दा कम पानी पर्दा नै ठूलो क्षति भइसकेको भन्दै आउँदो तीन महिनामा हुने क्षतिको भार नेपालले व्यहोर्न नसक्ने उल्लेख गर्नुभयाे । उहाँले समयमा नै सरकारले विशेष ध्यान दिन र सतर्कता अपनाउन नसके विपद्बाट ठूलो क्षति हुने निश्चित रहेको बताउनुभयो ।

नदी किनारमा भएका बस्ती, भौतिक संरचना, विद्युतीय संरचना, विद्यालय, खानेपानी, कृषि सबैमा विपद्को प्रभाव बढेको उप्रेतीले बताउनुभयो । उहाँले विपद्अघि नै सम्भावित क्षेत्रको पहिचान गरी त्यहाँका स्थानीयलाई सचेत गराउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

विज्ञ उप्रेतीले पछिल्ला केही दिनयता पानी पर्ने तरिकामा पनि परिवर्तन भइरहेको बताउनुभयो । उहाँले एकै ठाउँमा मुसलधारे पानी पर्ने र नजिकै सुक्खाको अवस्था रहेको पनि उल्लेख गर्नुभयो । निर्माण क्षेत्रले आउँदा दिनमा जलवायुमैत्री भौतिक संरचना निर्माण नगर्ने हो भने विपद्को क्षति झनै धेरै बढ्ने विज्ञ उप्रेतीको भनाइ छ ।

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया