देशका धेरै ठाउँमा रातभर झरी, नदी र खोलामा बाढी

 असार २२, २०८१ शनिबार ६:१३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातभर झरी परेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै पाल्पा, अर्घाखाँची र स्याङ्जामा एकसय मिलिमिटरभन्दा धेरै वर्षा भएको छ ।

पूर्वदेखि पश्चिमसम्म नै धेरै ठाउँमा पानी परेको छ । लगातार र ठूलो पानी परेका ठाउँका नदी, खोलामा बाढी आएको छ । पाल्पा, अर्घाखाँची र स्याङ्जामा ठूलो पानी परेपछि कालीगण्डकी र नारायणी नदीमा जल सतहले खतराको तह पार गरेको छ ।

काठमाण्डौ उपत्यका भएर बहने बागमती नदीमा पनि पानीको सतहले खतराको तह पार गरेको छ । तिनाउ नदी, पश्चिम राप्ती, कोइली नदी, डुम्रे खोला, बडिगाड, बबई नदी लगायत क्षेत्र भइ बहने अरू स–साना नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा ठाउँमा बस्नेलाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको बडिगाड, स्याङजाको मालुङ्गा वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा मापन भएको र ती क्षेत्र भइ बहने ससाना नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा ठाउँमा रहनेलाई आज बिहानसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

यस्तै पाल्पाको कुमलगाउँ, गण्डाकोट, जल्पा, अर्चले, बल्ड्याङ्गढी र आसपासको क्षेत्रमा पनि मध्यमदेखि ठूलो वर्षा भएकाले निस्ती खोला लगायत ससाना नदीमा आकश्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्रमा बस्नेलाई आज बिहानसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

काठमाण्डौ उपत्यकाको विभिन्न वर्षामापन केन्द्रहरुमा मध्यमदेखि ठूलो वर्षा मापन भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकोले नदी तटीय क्षेत्रमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेलाई बिहानसम्म उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

महाशाखाले भोलिसम्म देशका विभिन्न ठाउँमा बाढीको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आज देशभरका धेरै स–साना नदीा बहाव बढ्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीमा आकस्मिक बाढी आउन सक्ने महाशाखाले जनाएको छ ।  

अन्तिम अपडेट: असोज १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया