देशका धेरै ठाउँमा दिनभर झरी पर्ने, नदी र खोलामा बाढी

 असार २२, २०८१ शनिबार ९:४९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : काठमाण्डौको बागमती नदी

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । आज दिनभर झरी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो पनि सबै प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना छ ।

आज राति पनि कोशी र मधेस प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । रातिदेखि नै पानी परिरहेका ठाउँका नदी र खोलामा बाढी आएको छ ।

काठमाण्डौ उपत्यका भएर बहने बागमती नदीसहित नारायणी, पश्चिम राप्ती, कालीगण्डकी र कोशी नदीमा पानीको सतह खतराको तह नजिक पुगेको छ । पानी परिरहेका ठाउँका नदी खोला किनारमा बस्नेलाई उच्च सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

ललितपुरको बागमती नदी खोकना जलमापन केन्द्रमा जल सतहले खतराको तह पार गरेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले भनेको छ । तिनाउ नदी, पश्चिम राप्ती, कोइली नदी, डुम्रे खोला, बडिगाड, बबई नदी लगायत क्षेत्र भइ बहने अरू स–साना नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा ठाउँमा बस्नेलाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको बडिगाड, स्याङजाको मालुङ्गा वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा मापन भएको र ती क्षेत्र भइ बहने ससाना नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा ठाउँमा रहनेलाई उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

महाशाखाले भोलिसम्म देशका विभिन्न ठाउँमा बाढीको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आज देशभरका धेरै स–साना नदीमा बहाव बढ्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीमा आकस्मिक बाढी आउन सक्ने महाशाखाले जनाएको छ ।

दाङको देउखुरीमा केही बस्ती डुबानमा पर्न थालेपछि सुरक्षित ठाउँमा सारिँदै 

लगातार परिरहेको पानीका कारण दाङको देउखुरीमा केही बस्ति डुबानमा पर्न थालेका छन् । देउखुरीको लठ्ठहवा, पहरवालगायतका गाउँमा बाढी पस्न थालेको हो । बाढीका कारण उच्च जोखिममा परेका घरका नागरिकलाई सुरक्षित ठाउँमा सार्ने काम शुरु भएको छ । सुरक्षा निकायले उच्च जोखिममा परेका बस्तिका नागरिकलाई सुरक्षित ठाउँमा सार्न थालेका हुन् ।

लगातार पानी परिरहेकाले स्थानीय खहरे खोलामा जलसतह बढेको छ । इलाका प्रहरी कार्यालय सिसहनियाँको भवन डुबानमा परेको छ । कार्यालयका सामाग्री सुरक्षित ठाउँमा सारिएको छ ।

यस्तै राप्ती नदिमा जलसतह बढ्दै गएको छ । नदी तटिय क्षेत्रमा डुबान र कटानको जोखिम उच्च रहेकाले सतर्क रहन अनुरोध गरिएको छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया