देशका धेरैजसो ठाउँमा अहिले पनि ठूलाे पानी पर्दै, ठाउँठाउँका खोला र नदीमा बाढी

 असार २२, २०८१ शनिबार १५:१२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

थापाथलीकाे बाग्मती नदीमा आएकाे बाढी

काठमाण्डाै – देशका धेरैजसो ठाउँमा गएरातिदेखि लगातार ठूलो पानी परिरहेको छ । विशेष गरेर बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सबैजसो ठाउँमा ठूलो पानी परिरहेको छ ।

बारा, सिन्धुली, काभ्रे, काठमाण्डौ उपत्यका, मकवानपुर, चितवन, तनहुँ, लमजुङ, कास्की, गोरखा, प्युठान, गुल्मी, पाल्पा, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, स्याङ्जा, पर्वत, म्याग्दी, दाङ, बाँके, बर्दिया, कञ्चनपुरलगायतका जिल्लामा अहिले पनि भारी वर्षा भइरहेको छ ।

वर्षासँगै ठाउँ ठाउँमा बाढीले सतर्कता तह पार गरेको छ । पश्चिम राप्ती, बबई, नारायणी, कालीगण्डकी र कोशी नदीमा बाढी कतै सतर्कता तह र कतै खतराकै तहमा पुगेको छ । ललितपुरको खोकनामा बाग्मती नदी, सिन्धुपाल्चोकको नाकोटे र कपिलवस्तुको बनगाईमा कोइली नदी अहिले खतराको तहभन्दा माथि पुगेका छन् । विमलनगरमा मर्स्याङ्दी नदी, चितवनको देवघाट र नारायणी पुलमा नारायणी नदी, भक्तपुरको जगातेमा हनुमन्ते खोला, पर्वतको नयाँ पुलमा मोदी खोला र झापाको निन्दा खोला सतर्कता तहमा पुगेका छन् ।

अविरण वर्षाका कारण पर्साको वीरगञ्ज, दाङको देउखुरीसहित विभिन्न क्षेत्र डुबानमा परेका छन् । वीरगञ्ज महानगरपालिकाका छपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाईलगायतका ठाउँ डुबानमा परेका छन् ।

यस्तै दोलखाको गौरीशङ्कर गाउँपालिका–९ डोडाङमा बाढीमा परेर एक जना बेपत्ता भएका छन् भने तीन वटा घर बगेका छन् । गएराति रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन हुनुभएको गौरीशङ्कर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताउनुभयो । वडाध्यक्ष शेर्पाका अनुसार बाढीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो ।

यस्तै गुल्मीमा पहिरोमा पुरिएकी एक महिलालाई जीवितै उद्धार गरिएको छ । रुरुक्षेत्र गाउँपालिका ३ अन्र्तगत थोर्गाको ठाँटीमा आज बिहान स्थानीय उजेली विकको घर पहिरोले पुरेको हो । पहिरोले पुरिएकी ४० वर्षीया उजेली विकलाई स्थानीयवासीकाे सहयोगमा जीवितै उद्धार गर्न सफल भएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयाे ।

यस्तै भारी वर्षाका कारण पूर्वी नवलपरासीको केरुङे खोलाले झन्डै २५ बिघा खेतीयोग्य जमिन बगाएको छ ।

अन्तिम अपडेट: असोज १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया