आजदेखि देशका धेरै ठाउँको मौसम क्रमिक रूपमा सुधार हुँदै, केही ठाउँमा अझै बाढीको जोखिम

 असार २४, २०८१ सोमबार ८:१५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – आजदेखि देशका धेरै ठाउँमा मौसम क्रमिक रूपमा सुधार हुने भएको छ । मनसुनी न्यून चापीय रेखा दक्षिणतिर सर्ने भएकाले मनसुनको सक्रियता घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनदेखि देशैभरि ठूलो वर्षा भइरहेकाेमा आजदेखि वर्षा हुने क्रममा केही कमी आउने सम्भावना रहेको छ । यद्यपि कोशी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा र थोरै ठाउँमा अत्यधिक वर्षाको सम्भावना यथावत् छ । मधेश, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

पछिल्लो २४ घण्टामा कञ्चनपुरको दोधारा मापन केन्द्रमा सबैभन्दा धेरै ६ सय २२ मिलिमिटर वर्षाको मापन भएको छ । यस्तै कैलालीको धनगढी विमानस्थल मापन केन्द्रमा १ सय २५ मिलिमिटर वर्षाको मापन भएको छ । कञ्चनपुरको हनुमाननगर, दोधारा, सुन्दरपूर वर्षामापन केन्द्रमा धेरै पानी परेकाे र थप पानी पर्नसक्ने हुँदा यस क्षेत्र भई बग्ने धेरै नदीहरूमा जलसतह खतरा तहभन्दा माथि रहेकाले उच्च सतर्कता उपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै कैलालीको मालाखेतीमा मोहना नदी र डडेल्धुराको पारीगाउँ मापन केन्द्रमा महाकाली नदीले सतर्कता तह पार गरेको छ । यस्तै बिहान काठमाण्डौको कपन, पानीपोखेरीलागायतका केही ठाउँमा पनि ठूलो पानी परेको छ । विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले टेकु दोभानसम्मको नदी तटीय क्षेत्रहरूमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना नरहे पनि अबको २/३ दिन हल्कादेखि मध्यम वर्षा हुने र रोकिने क्रम दिनैभरि चलिरहने मौसमविद् गोविन्द झाले बताउनुभयो । वर्षाका कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम कायम रहेकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन उहाँले आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया