महाकाली र सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्ने, कहाँ–कहाँ छ बाढीकाे जाेखिम ?

 असार २४, २०८१ सोमबार १०:५२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : बाढी सूचना

काठमाण्डाै – आज महाकाली र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर महाकाली र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास हुने भन्दै नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार आज कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, बैतडी, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बग्ने धेरैजसो स–साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा केही स–साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ ।

कञ्चनपुर जिल्लाको दोधारा वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा १ सय ३ मिलिमिटर वर्षा भएकाे र थप वर्षा हुनसक्ने महाशाखाले जनाएकाे छ ।

यस्तै आजदेखि देशका धेरै ठाउँमा मौसम क्रमिक रूपमा सुधार हुने भएको छ । मनसुनी न्यून चापीय रेखा दक्षिणतिर सर्ने भएकाले मनसुनको सक्रियता घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनदेखि देशैभरि ठूलो वर्षा भइरहेकोमा आजदेखि वर्षा हुने क्रममा केही कमी आउने सम्भावना रहेको छ । यद्यपि कोशी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा र थोरै ठाउँमा अत्यधिक वर्षाको सम्भावना यथावत् छ । मधेश, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया