गएको आइतवार र सोमवार कञ्चनपुरको दोधारामा ७८ वर्षयताकै धेरै वर्षा

 असार २६, २०८१ बुधबार ६:२९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपालमा वर्षा मापन शुरु भएको ७८ वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा सर्वाधिक पानी परेको छ । गएको आइतवार र सोमवार कञ्चनपुरको दोधारामा २००३ सालयताकै सर्वाधिक वर्षा भएको पाइएको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार कञ्चनपुरको दोधारा, हनुमान नगर र सुन्दरपुरमा २००३ सालयताकै बढी वर्षा भएको हो ।

अस्ति सोमवार विहान पौने ९ बजे मापन गरिएको प्रारम्भिक तथ्याङ्कअनुसार २४ घण्टाको अवधिमा दोधारामा ६ सय २४ मिलिमिटर, हनुमान नगरमा ५ सय ७३ दशमलव ६ मिलिमिटर तथा सुन्दरपुरमा ५ सय ५५ दशमलव ८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । यस वर्ष गएको जेठ २८ गतेदेखि पूर्वी नेपालबाट शुरु भएको मनसुनको प्रभाव असार १४ गतदेखि असार २४ गतेसम्म सक्रिय भएको थियो ।

वायुमण्डलीय तथ्याङ्क, भू–उपग्रहबाट लिइएको तस्बिर तथा मौसम मोडेलबाट प्राप्त मौसमको अवस्थाको विश्लेषणबाट दुई दिन मनसुन न्यूनचापिय रेखा सरदर स्थानमा रहेको भए पनि सुदूरपश्चिमको दक्षिण भाग आसपासको तल्लो वायुमण्डलमा न्यूनचापिय प्रणाली विकसित भएको विभागले जनाएको छ ।

यस्तै, पश्चिमी वायुको न्यूनचापीय रेखा सक्रिय रहेको, अरब सागर तथा बङ्गालको खाडी दुवैबाट जाउने जलवायुयुक्त हावा कञ्चनपुरमा मिसिएर भारी वर्षा भएको विभागले जारी गरेको विज्ञप्तीमा उल्लेख  छ ।  यसअघि २०७४ सालको साउन २९ गते मकवानपुरको हेटौँडा केन्द्रमा सबभन्दा धेरै ५ सय १६ दशमलव २ मिलिमिटर वर्षा मापन गरिएको थियो ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया