गण्डकी प्रदेशमा मुसलधारे वर्षा, पर्सि शनिवारसम्म देशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

 असार २७, २०८१ बिहीबार ८:२८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – देशभर मनसुन सक्रिय रहेकोले गएरातिदेखि धरै ठाउँमा पानी परिरहेको छ । विशेषगरी गण्डकी प्रदेशमा मुसलधारे पानी परिरहेको मौसमविद गोविन्द झाले बताउनुभयो । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै कास्कीमा १ सय ६९ दशमलव ४ मिलिमिटर पानी परेको छ । महोत्तरीमा १ सय ४३ दशमलव ४ , गोरखामा १ सय १० दशमलव ८ , पर्वतमा ८८ दशमलव ८ मिलिमिटर वर्षा भएको छ ।

यस्तै नवलपरासी, लम्जुङ लगातका जिल्लामा पनि पानी पररहेको छ । मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर ठाउँको आसपास र पूर्वमा सरदरभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग/सिमाना आसपास) रहेको र हिजो रातिदेखि मनसुन न्यूनचापीय रेखा नेपालतिर सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै आजदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ । यी दुवै प्रणालीको प्रभावले पर्सि शनिवार बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना देखिएकोले सतर्कताका लागि महाशाखाले अनुरोध गरेको छ ।

पर्सि बिहानसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जलवायु विपत्विज्ञ धर्मराज उप्रेतीले बताउनुभयो ।

उहाँकाअनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई ठाउँमा  वर्षा तथा कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलोदेखि अति ठूलो वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले हिजो निकालेको बुलेटिन अनुसार नेपालका ४३ जिल्लालाई उच्च जोखिममा र २६ जिल्लालाई मध्यम जोखिमको सूचीमा राखेको छ । कर्णालीका डोल्पा, कालिकोट, मुगु, जुम्ला र हुम्ला तथा सुदूरपश्चिमका बाजुरा, दार्चुला र बझाङ जिल्ला भने न्यून जोखिममा परेका छन् ।

अन्तिम अपडेट: भदौ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया