सिंहदरबारमा फूलमाला र खादा बोक्नेको घुइँचो, मन्त्रीलाई बधाई दिन जहाजको यात्रा

 साउन ३, २०८१ बिहीबार १०:३:२१ | विकाश चापागाईँ
unn.prixa.net

काठमाण्डौ – तीन दिनअघि गएको सोमवार नियुक्त भएका नयाँ मन्त्रीहरुलाई बधाई र शुभकामना थाप्न भ्याइनभ्याइ छ । मन्त्रीको निवासदेखि मन्त्रालयसम्म नेता, कार्यकर्ता र शुभेच्छुको उत्तिकै घुइँचो देखिन्छ । सिंहदरबारमा लगातार तीन दिन फूलमाला र खादा बोकेर जानेहरुको लर्को लागिरहेको छ । हिजो बुधवार पनि सिंहदरबारभित्र रहेका धेरै मन्त्रालयहरुमा बधाई र शुभकामना दिन जानेहरुको चहलपहल देखियो ।

दिउँसो १२ बजे सङ्खुवासभाका देवी घिमिरे ऊर्जा, जालस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री दीपक खड्कालाई बधाई तथा सुझाव दिन आफ्नो पालो कुरिरहनुभएको थियो । ‘आफ्नो जिल्लाको भएर बधाई दिन आएको हुँ । उहाँलाई सुझाव पनि दिन्छु,’ उहाँले भन्नुभयो, ‘गाउँमा धेरै कुराको अभाव छ ।’ मन्त्रीको कार्यकक्ष र सचिवालयमा दिनभर नेता, कार्यकर्ता र शुभेच्छुको भिड देखिन्थ्यो । कतिपयले त रात्रिबस र जहाज चढेर मन्त्रीलाई बधाई दिन आएको बताउँदै थिए ।

अर्थ मन्त्रालयमा पनि उपप्रधान एवम् अर्थ मन्त्री विष्णु पौडेललाई भेट्न जाने नेता तथा कार्यकर्ताको भिड देखिन्थ्यो । अर्थ मन्त्रालयले शुभकामना दिन आउनेको समय ३ बजेपछि तोकेको थियो । मन्त्रीलाई बधाई तथा सुझाव दिन जहाज नै चढेर आउनुभएका पर्साका अकलेश साहले भन्नुभयो, ‘मन्त्रीज्यूलाई बधाई मात्र दिन होइन, हाम्रो गाउँमा बाटो, पानी लगायत पूर्वाधारको अभाव छ । त्यसैले उहाँसँग केही विकास निर्माणमा बजेट विनियोजन गरिदिनुहुन्छ कि भनेर भेट्न आएको हुँ ।’ 

अर्थ मन्त्रालय छेउमै रहेको परराष्ट्र मन्त्रालयमा मन्त्री डा. आरजु राणालाई बधाई तथा शुभकामना दिन उत्तिकै घुइँचो थियो । तर मन्त्रीले अन्तर्राष्ट्रिय नियोगका पदाधिकारीसँग भेट्ने कार्यक्रम रहेकाले धेरैले बुधवार पालो पाएनन् । 
गृह मन्त्रालयमा बुधवार दिउँसो मन्त्री पुग्नु अघिसम्म सुनसानजस्तै थियो । तर केहीबेरमा मन्त्री रमेश लेखक पुगेलगत्तै बधाई तथा शुभकामना दिनेको घुइँचो लाग्न थाल्यो । सुरक्षाकर्मीले मन्त्रालयको मूलढोकामा कडा जाँच गर्दै पठाइरहेका थिए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय पनि मन्त्री रामनाथ अधिकारीलाई भेट्न जानेको भीड उस्तै थियो । भिड व्यवस्थापन गर्न सुरक्षा र कर्मचारीलाई हम्मेहम्मे परेको देखिन्थ्यो । कार्यक्रमको लागि मन्त्रीलाई निमन्त्रणा दिन आउनुभएका गणेश गुरागाई‌ले भन्नुभयो, ‘मन्त्रीज्यूलाई शुरुमा काम गर्न दिनुपर्छ, यदि भनेअनुसार राम्रो योजना ल्याएर काम गर्नुभयो भने उहाँलाई सम्मान तथा बधाई दिन मन्त्रालय आएको राम्रो हो । तर आज सबैजसो मन्त्रालयमा मानिसको भिडले अस्तव्यस्त देखिन्छ ।’ 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री पृथ्वी सुब्बा गुरुङलाई बधाई दिन गुरुङ समुदायको सिङ्गो सङ्गठन नै जम्मा भएको थियो । यस्तै उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहको कार्यालयमा पनि चहलपहल राम्रै थियो । काठमाण्डौबाट निर्वाचित सांसद भएको हुनाले पनि पार्टीबाट निर्वाचित वडाध्यक्षदेखि पार्टीका नेता तथा कार्यकर्ताको भिड देखिन्थ्यो । सचिवलायका कर्मचारीलाई भिड व्यवस्थापन गर्न गाह्रो परिरहेको थियो । 

महिला, बालबालिका मन्त्रालयमा अरू मन्त्रालयभन्दा चहलपहल केही कम देखिन्थ्यो । मन्त्री नवलकिशोर साह सुडीलाई बधाई दिन कर्णाली र सुदूरपश्चिम प्रदेशका नेता तथा कार्यकर्ताको उपस्थिति थियो । मन्त्रीलाई बधाई दिन एक घण्टादेखि पर्खिरहेका बाजुराका ज्ञानेन्द्र सार्कीले भन्नुभयो, ‘विगत १७ वर्षपछि बल्ल हाम्रो क्षेत्रबाट प्रतिनिधित्व गर्ने सङ्घीय मन्त्री पाएका छौँ । गाउँठाउँलाई केही गर्नुहुन्छ कि भन्ने आश छ, हेरौँ ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पनि मन्त्री विद्या भट्टराईलाई भेट्न आउनेहरुको उत्तिकै भिड थियो । मन्त्रालयका एक कर्मचारीले भने ‘सुमना श्रेष्ठले हप्ताको एक दिन मात्र यसरी भेट्नुहुन्थ्यो, उहाँ मन्त्री हुँदा खासै मानिस आएकै देखिएन तर अहिले हामीलाई मन्त्रालय आउने मानिसलाई व्यवस्थापन गर्नै गाह्रो भइरहेको छ ।’ शिक्षामन्त्रीलाई बधाई दिन जानेहरुलाई पालैसँग भेट गर्न दिए पनि खादा र माला भने भित्र लैजान दिइएको थिएन ।

श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, खेलकुद लगायत मन्त्रालयमा भने चहलपहल तुलनात्मक रूपमा कम देखिन्थ्यो । मन्त्री नियुक्त भएको तीन दिनसम्म पनि बधाई तथा शुभकामना दिन जानेहरुको भिडले मन्त्रालयको दैनिक काममा असर पर्ने गरेको छ ।

त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई तथा शुभकामना दिन चाहनेहरुलाई सामाजिक सञ्जालको सदुपयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले सकेसम्म डिजिटलमाध्यमबाटै बधाई दिन र भेट्न आउँदा पनि खादा र माला नलिइकन आउन भन्नुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त बधाई र शुभकामना दिन आउनेहरुले ल्याएको खादा र मालासमेत लगाउन मान्नुभएको छैन । आफूले काम गरेर देखाउन सकेपछि मात्र खादा र माला लगाउने बताउनुभएको छ । 

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विकाश चापागाईँ

विकाश चापागाईँ ​उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया