बङ्गलादेशबाट झन्डै आठ सय जना नेपाली विद्यार्थी फर्किए, समस्यामा परेकाले अनलाइन आवेदन दिन सक्ने

 साउन ६, २०८१ आइतबार ७:२८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बङ्गलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक बन्दै गएपछि त्यहाँ रहेका झन्डै आठ सय जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । झन्डै आठ सय जना विद्यार्थी स्थल र हवाई मार्ग हुँदै नेपाल फर्कनको लागि बङ्गलादेश छाडिसकेका परराष्ट्र मन्त्रालयका शाखा अधिकृत महेश्वरमणि त्रिपाठीले जानकारी दिनुभयो । बङ्गलादेशका विभिन्न ठाउँबाट ढाका विमानस्थल वा सम्बन्धित सीमा नाकामा सुरक्षित यात्राका लागि समन्वय गरिरहेको बङ्गलादेशमा रहेको नेपाली दूतावासले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले सूचना निकालेर बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीको सम्बन्धमा अनलाइन निवेदन दिन अभिभावकसँग अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि 'हेल्प डेस्क' स्थापना गरेको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाण्डौ ल्याइने बताउनुभएको छ । सम्बन्धित परिवारको माग अनुसार बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीलाई आज स्वदेश फर्काउने व्यवस्था मिलाएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् जानकारी गराउनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको पनि उल्लेख गर्नुभएको छ । बङ्गलादेशमा झन्डै तीन हजार जना नेपाली विद्यार्थी रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सरकारी जागिरमा रहेको कोटा प्रणालीकाविरुद्ध बङ्गलादेशमा विद्यार्थीले विगत एक हप्तादेखि आन्दोलन गर्दै आएका छन् । सन् १९७१ मा पाकिस्तानबाट बङ्गलादेश अलग हुँदा लडाइँ गरेका व्यक्तिका सन्तान र विशिष्ट समूहका लागि सरकारी जागिरका एक तिहाइ पद आरक्षित रहेका छन् ।

यो व्यवस्था हटाएर योग्यताका आधारमा सरकारी जागिरमा भर्ना गर्नुपर्ने आन्दोलनरत विद्यार्थीको माग छ । आन्दोलनकारीमाथी प्रहरीले बल प्रयोग गर्दा अहिलेसम्म कम्तीमा एक सय २३ जनाको ज्यान गइसकेको समाचारसंस्था एएफपीले जनाएको छ । तर सरकारले टेलिफोन र इन्टरनेट सेवा बन्द गर्दा ज्यान गुमाउनेको विवरण संकलन गर्न समस्या भइरहेको छ । बङ्गलादेश सरकारले हिजोदेखी देशभर कर्फ्यू लगाएको छ । 

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया