३२ वर्षको अवधिमा त्रिशूलीमा खसेका ८ वटा गाडी अझै भेटिएनन्

 साउन १५, २०८१ मंगलबार १२:५:४४ | विकाश चापागाईँ
unn.prixa.net

काठमाण्डौ – १९ दिनअघि त्रिशूलीमा खसेका दुई वटा बस अझै भेटिएका छैनन् । बससँगै बेपत्ता भएका ६२ जना यात्रुमध्ये २४ जनाको शव भेटिए पनि ३८ जनाकाे अवस्था अझै थाहा हुन सकेकाे छैन । यसअघि पनि त्रिशूली नदीमा खसेका कतिपय गाडी भेटिन सकेका छैनन् । सशस्त्र प्रहरीका अनुसार पछिल्लो पटक खसेका दुई वटा बससहित अहिलेसम्म ३२ वर्षकाे अवधिमा त्रिशूलीमा आठ वटा गाडी हराएका छन् । त्रिशूलीमा गाडीसँगै बिलाउनेमा पूर्वगृहमन्त्रीदेखि सुरक्षाकर्मीसम्म छन् ।

त्रिशूलीमा अहिलेसम्म बिलाएका गाडी र यात्रुको विवरण :

  • साल २०४९, महिना र गते प्रहरीको तथ्याङ्कमा पनि छैन । झापाको काँकडभिट्टाबाट ४२ जना यात्रु बोकेर काठमाण्डौका लागि छुटेको स्वाभिमान परिवहनको बस धादिङको कृष्णभीर नजिकैबाट त्रिशूली नदीमा खस्यो । बस त्रिशूली नदीमा खसेको थाहा पाउनेबित्तिकै प्रहरीले घटनास्थलमा पुगेर खोजी थाल्यो । त्रिशूलीको गहिरो पानीभित्र पसेर खोज्नका लागि अहिलेजस्तो गोताखोर र अरू प्रविधि पनि थिएन । बस र बसमा रहेका ३८ जना यात्रु अझै बेपत्ता छन् ।

 

  • २०७३ साल असोज ९ गते । पूर्वगृहमन्त्री माधव घिमिरे चढ्नुभएको बा ९ च १५३१ नम्बरको जीप चितवन दारेचोकको घोप्टेभीरबाट त्रिशूली नदीमा खस्यो । जीप र जीपमा रहेका पूर्वगृहमन्त्री घिमिरेसहित उहाँका दुई भाइहरू प्रकाश र मनमोहनको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन । त्यति बेला सशस्त्र प्रहरी बल र बङ्गलादेशबाट आएको गोताखर टोलीले महिनौँसम्म खोजी गर्दा पनि जीप र बेपत्ता मानिस नभेटिएको सशस्त्र प्रहरीका सह–प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापा बताउनुहुन्छ । उहाँका अनुसार सशस्त्र प्रहरीले पहिलो पटक २०६९ साल वैशाख ३० गते बङ्गलादेशमा २५ जनाको जनशक्ति पठाएर गोताखोरको प्रशिक्षण गरेको थियो । अहिले सशस्त्र प्रहरीसँग देशभर एक सय १० जनाको गोताखोर जनशक्ति छ ।

 

  • २०७४ साल असार ९ गते मध्यरातको १ बजे । मुग्लिङ–नारायणगढ सडक खण्डअन्तर्गत चितवनको कालीखोलामा एक्कासी पहिरो खस्दा ना ५ ख ७८२७ नम्बरको ट्रक र सुरक्षाकर्मी बोकेको ना १ झ १३९० नम्बरको जीप त्रिशूली नदीमा खस्यो । जीपमा प्रहरी सहायक निरीक्षक (असई) निश्चल तामाङसहित चार जनाको ज्यान गयो । ज्यान गुमाउने चारै जनाको शव भेटियो तर ट्रक र जीप अहिलेसम्म भेटिएको छैन । त्यति बेला पनि प्रहरीले गोताखोरसहितको टोली परिचालन गरेर खोजी गरेको थियो ।

 

  • २०७९ साल वैशाख २५ गते । धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ बाट ग १ त ४८९८ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर त्रिशूली नदीमा खस्यो । ट्र्याक्टर र चालक मगरसिंह चेपाङको अवस्था अझै थाहा हुन सकेको छैन । प्रहरीले गोताखोरको टोलीसहित खोजी गरे पनि हराएको ट्र्याक्टर पत्ता लगाउन सकेन ।

 

  • २०७९ साल साउन २८ गते । चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोला पुल नजिकैबाट ना ७ ख ७१०३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्यो । ट्रक चालकलाई प्रहरीले सकुशल भेट्टायो । तर ट्रक अझैसम्म पनि भेटिएको छैन । त्यस बेला पनि प्रहरीले र्‍याफ्टिङ बोट, गोताखोरको प्रयोग गरेको थियो । तर नतिजा शून्य रह्यो ।

 

  • २०८१ साल असार २८ गते बिहान झन्डै ३ बजेको समय । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा लेदोसहितको पहिरोले दुई वटा बस त्रिशूली नदीमा खसे । वीरगञ्जबाट काठमाण्डौका लागि छुटेको प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाण्डौबाट गौरका लागि छुटेको बाग्मती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा ६५ जना यात्रु थिए । तीन जनाले हाम फालेर ज्यान जोगाए । दुई वटा बससँगै हराएका ६२ जना यात्रुमध्ये अहिलेसम्म २४ जनाको शव भेटिएको छ । बाँकी यात्रु र बसको अवस्था अझै थाहा हुन सकेको छैन । दुर्घटना भएकै दिनदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले निरन्तर खोजिरहेका छन् । खोजीमा सशस्त्र र नेपाली सेनासँग भएका गोताखोर, पानीभित्र हेर्न मिल्ने क्यामरा, ड्रोन लगायतका अत्याधुनिक प्रविधि र उपकरणको प्रयोग भएको छ । भारतबाट आएको दक्ष प्राविधिकसहितको टोलीले समेत एक हप्तासम्म खोजी गर्‍याे । तर १९ दिनदेखि हराएका दुई वटा बस र ३८ यात्रु भेटिएका छैनन् ।

 

त्रिशूलीमा खसेका बस र मानिस किन भेटिन मुश्किल ?

त्रिशूली नदीको उच्च बहाव, खोच र गहिराइले गर्दा नदीमा खेसका मानिस र बस भेट्टाउन गाह्रो छ । त्रिशूली नदीमा बर्खायाममा पानी धमिलो हुन्छ । पहिले नेपालमा गोताखोरको टोली थिएन । अहिले गोताखोरको टोली भए पनि हराएको बस भेट्टाउन सकेको छैन । धमिलो पानी भएका कारण काम गर्न कठिनाइ छ । अहिले चितवनको सिमलतालमा हराएको दुई वटा बस र मानिस खोज्न सोनार क्यामराको प्रयोग गरिएको छ । तर धमिलो पानी भएकै कारण सोनार क्यामराले काम गर्न सकेको छैन । साेनार क्यामराले पानीभित्र भएको वस्तुलाई स्क्रिनमा आकार देखाउँछ ।

भारतीय पक्षसँग आधुनिक प्रविधिको सोनार क्यामरा भएका कारण त्रिशूलीमा हराएको बस र मानिसको खोजी गर्न बोलाइएको हो । पानीको बहाव र बढी धमिलो पानी भएका कारण सशस्त्रको प्रविधिले काम गर्न नसकेको सशस्त्र प्रहरीका सह–प्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापा बताउनुहुन्छ । त्यसैले भारतीय पक्षसँग समन्वय गर्नुपरेको उहाँको भनाइ छ । तर भारतीय प्रविधिले पनि त्रिशूलीको वेगमा काम गर्न सकेन ।

सशस्त्र प्रहरीले नदी किनारमा पैदल गस्ती पनि खटाएको छ । 'सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटार, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी र सीमा प्रहरी गणबाट दैनिक तीन सयभन्दा बढी जनशक्ति परिचालन भएको छ', उहाँले भन्नुभयो, 'दुर्घटना भएको सिमलतालदेखि गण्डक ब्यारेजसम्म खोजीकार्य भइरहेको छ ।'

हराएका बस र यात्रु खोज्न सशस्त्र प्रहरीले गोताखोर, विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति, र्‍याफ्टिङ बोट, मोटर बोट, वाटर ड्रोन र सोनार क्यामरा प्रयोग गरिरहेको डीएसपी थापाले बताउनुभयो ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विकाश चापागाईँ

विकाश चापागाईँ ​उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया