छात्रवृत्ति दुरुपयोग गर्ने र मातेर विद्यालय आउने प्रधानाध्यापक बर्खास्त

 मंसिर ७, २०७५ शुक्रबार १९:८:३४ | दयाराम आचार्य

नवलपरासी – छात्रवृत्तिकाे रकम, शिक्षकको तलब  दुरुपयोग गरेको तथा विद्यालयमा रक्सीले मातेर आउने  प्रधानाध्यापक  बर्खास्तीमा परेका छन् ।

नवलपरासी बुलिङटार गाउँपालिका–३, कोटथरमा रहेको बाल विद्या मन्दिरका प्रधानाध्यापक निरज बस्ताकोटीलाई प्रधानाध्यापक पदबाट  बर्खास्त गरिएको हो ।  

छात्रवृत्तिका रकम, शिक्षकको तलब  दुरुपयोग गरेको तथा विद्यालयमा रक्सीले मातेर आएको भन्दै अभिभावकले विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका थिए ।

प्रधानाध्यापकले अनियमितता गरेको समाचार उज्यालोबाट प्रसारण र प्रकाशित भए पछि शिक्षा विकास तथा समन्वय इकाइले लिखित जवाफसहित उपस्थितिका लागि पत्र काटेको थियो । 

प्रधानाध्यापक निरज बस्ताकोटीले चित्तबुझ्दो जवाफ पेस नगरेको भन्दै इकाइ प्रमुख कृष्णचन्द्र पोखे्रलले प्रधानाध्यापक पदबाट  बर्खास्त गरिएको जानकारी दिनुभयो ।

प्रधानाध्यापक पदबाट बर्खास्तीमा परेका निरज बस्ताकोटीले शिक्षक पदमा  पदीय दायित्वअनुसार काम नगरेको पाइएमा शिक्षक पेसाबाट नै अवकाश गरिने इकाइ प्रमुख पोख्रेलले जानकारी दिनुभयो । प्रधानाध्यापक निरज बस्ताकोटीलाई बर्खास्त गरी विद्यालयको प्रधानाध्यापकको रुपमा  शिक्षक दामोदर देवकोटालाई जिम्मेवारी प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।


 

अन्तिम अपडेट: बैशाख १, २०८१

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया