यातायात क्षेत्रका समस्या समाधान गर्न सरकारलाई यातायात व्यवसायीको आग्रह

 भदौ १३, २०८१ बिहीबार १२:२:३० | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गर्न गृहमन्त्रीलाई आग्रह गरेको छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला नेतृत्वमा तीनै यातायात मजदुर सङ्गठनका अध्यक्षको टोलीले गृहमन्त्री रमेश लेखकलाई भेटेर नजिकिँदो चाडपर्वलाई ध्यान राखेर यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको हो ।

महासङ्घका महासचिव डेकनाथ गौतमले यातायात क्षेत्रमा निम्न, मध्यम र स्वरोजगार व्यवसायीको चार लाख गाडीमा १० खर्ब रुपैयाँभन्दा धेरै लगानी रहेकाले यसको सुरक्षा र यसभित्रका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरिएको जानकारी दिनुभयो ।

सडक दुर्घटनाबाट अहिले दैनिक सात जनाको ज्यान जानुका साथै ४० जना घाइते हुने गरेका छन् । उहाँले चाडपर्व नजिकिँदै गर्दा कतिपय राष्ट्रिय राजमार्ग र सहायक मार्ग बिग्रिएको जनाउँदै राजमार्गलाई चाँडो मर्मतसम्भार गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभयो ।

गृहमन्त्री लेखकले भने सडक दुर्घटना न्युनीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट काम  गर्न र यात्रुलाई चाडपर्व लक्षित प्रभावकारी सेवा प्रवाह गर्न व्यवसायीलाई आग्रह गर्नुभएको छ । उहाँले दुर्घटना एकदमै बढिरहेकाले सडक सुरक्षा परिषद्, सडक विभाग, मन्त्रालय, नेपाल प्रहरी लगायतलाई आउँदो दुई/तीन महिनामा दुर्घटना कम भएको परिणाम देखिनेगरि काम गर्न आग्रह गर्नुभएको छ । 
 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया