युक्रेनमा प्रहार गरेको अस्त्र आणविक हतियार बोक्न सक्षम छ : रुस
मंसिर ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोक – मेलम्चीबाट ५ कालोमिटर उत्तर लागेपछि तालामाराङ पुगिन्छ । बजारको पछिल्लो भागबाट फर्किएर हेर्दा रातो छानाे भएको भवन देखिन्छ । भवनका वरिपरी बार लगाइएको छ । बीचमा खेलमैदान पनि छ । झट्ट हेर्दा कुनै रिसोर्टमा पुगेजस्तै लाग्छ । तर त्यो रिसोर्ट होइन विद्यालय भवन हो ।
विद्यालयको नाम हो, श्री तेर्से माध्यमिक विद्यालय । वि.सं. २०४७ सालमा अहिले भैरहेको स्थानभन्दा केहीमाथि गाउँमा तत्कालीन प्राथमिक विद्यालयको रुपमा यो विद्यालय स्थापना भएको थियो । वि.सं. २०६० सालमा गाउँमै माध्यमिक तहसम्मको विद्यालय सञ्चालन गर्ने उद्देश्यले स्थानीयसहित काठमाडौंमा बसोबास गर्ने त्यहाँका युवा तथा सामाजिक बुद्धिजीवीकाे सक्रियतामा यो स्थानमा विद्यालय सारेर नि.मा.वि र मा.वि हुँदै वि.सं २०७१ देखि उच्च माध्यकमिक विद्यालयसम्म सञ्चालन गरियो ।
अहिले विद्यालयमा जम्मा ५५८ जना बालबालिका अध्ययनरत छन् । २९ जना शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् । ग्रामीण क्षेत्र भएकोले सबैजसो गरिब किसानका छोराछोरी अध्ययन गर्ने भए पनि सहरी क्षेत्रमा उपलब्ध हुन सक्ने किसिमको शिक्षा दिनुपर्छ भनेर अन्य सामुदायिक विद्यालयभन्दा फरक ढंगले सञ्चालन गर्ने प्रयास गरिएको प्रधानाध्यापक कृष्ण ढुंगानाले जानकारी दिनुभयो ।
भूकम्पका कारण विद्यालयका सबैजसो भौतिक संरचनाहरु ध्वस्त भएका थिए । त्यतिबेला अब विद्यालय भवन निर्माण कहिले र कसरी सम्भावना होला र ? के विद्यालय पहिले जस्तै सञ्चालन गर्न सम्भव होला ? भन्ने प्रश्न र चिन्ता उब्जिए । अब बालबालिकाहरु बिचल्लीमा परे भन्ने अभिभावकहरुको चिन्ता थियो ।
कयौं अभिभावकले आफ्ना केटाकेटीलाई काठमाडौं लगे । विद्यार्थीको पनि संख्या घट्न थाल्यो । भूकम्पको केहि दिन पछि नै शिक्षक तथा स्थानीय अभिभावक अस्थायी कक्षाकोठा निर्माणमा जुटे। काठमाडौंका कलेजका विद्यार्थीहरु आएर स्वयंसेवकका रुपमा खटिए । अस्थायी कक्षाकोठा तयार भयो र पढाइ नियमित गर्न सम्भव भयो ।
तीन वर्ष अस्थायी कक्षाकोठामा नै पढाइ भयो त्यसले सिकाइमा निकै ठूलो असर परेको थियो । तर पनि विद्यालय पुनःनिर्माणको काममा गैरसरकारी संस्थाहरुले पाएपछि निर्माण सुरु भएको एक वर्षमा नै विद्यालय भवन निर्माण सम्पन्न भयो । यसै शैक्षिक सत्र २०७५ बाट नयाँ भवनमा पठनपाठन सुरुवात भएको छ ।
अहिले विद्यालय भवन लोभलाग्दो भएको छ । विद्यालयमा भएका सबै संरचनाहरु व्यवस्थित र सुरक्षित हिसाबले बनेका छन् । विद्यालयको भौतिक संरचना निर्माण गर्दा धेरै कुराहरुको ख्याल गरेको पाइएको छ । विद्यालयका सबै कोठाहरुमा ह्वीलचियर जान सक्ने बनाइएको छ ।
एक तलाबाट अर्को तलामा जाने सिंढीहरुमा पनि रेलिङ बारको व्यावस्था गरिएको छ । विद्यालयका कक्षाकोठामा रहेका डेक्स बेन्चहरु पनि बालबालिकाहरुलाई सहज हुने तरिकाले निर्माण गरीएको छ ।
नयाँ भवनसँगै विद्यालय वातावरण राम्रो बनाउन विद्यालय हातामा माछा पोखरी, पार्क, फूलबारी बनाइएको छ । विद्यालयका सबै कक्षाकोठामा सीसी क्यामेरा जडान गरिएका छन् भने २० वटा कम्प्युटरसहितको कम्प्युटर ल्याब, साधारण पुस्तकालय र विज्ञान प्रयोगशाला व्यवस्थापन गरिएको छ । साना कक्षाकोठामा एमजीएमएल शिक्षण पद्दती लागू गर्न बालमैत्री कक्षाकोठा व्यवस्थापन गरिएको छ भने शौचालय र खानेपानीको धाराको पनि निर्माण गरिएको छ ।
विद्यालयले वि. सं. २०६६ सालबाट अंग्रेजी माध्यमकको पढाइलाई प्राथमिक तहमा सुरुवात गर्याे । यसले गर्दा अभिभावकमा एउटा फरक आशा पैदा हुन गयो, त्यो हो : सहरका निजी बोर्डिङ स्कूलले दिने स्तरको शिक्षा आगनकै सरकारी स्कूलमा पाइने भयो । अहिले विद्यालयमा प्राथमिक तह पूर्ण रुपले अंग्रेजी माध्यमबाट सञ्चालित छ भने माध्यमिक तह अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ भइरहेको छ ।
निजी विद्यालयहरुसँग प्रतिस्पर्धात्मक क्षमता विकास गर्दै गइरहेको यो विद्यालयमा अभिभावको आकर्षण बढ्दै गएको छ । आसपासका सामुदायिक विद्यालयका तुलनामा विद्यार्थीको चाप बढी रहेको छ । अन्य विद्यालयका सेवाक्षेत्रबाटसमेत बालबालिकाहरु विद्यालयमा भर्ना हुन आउने गरेका छन् ।
विद्यालयमा जंक फुड निषेधित छ भने घरायसी खाजा विद्यार्थीलाई अनिवार्य गरिएको छ । आफ्ना बालबालिकालाई विद्यालय पठाउँदा अभिभावकले सजिलोका लागि खाजाको निम्ति पैसा पठाइदिने र बालबालिकाहरुले आफ्ना अभिभावकले दिएको पैसा अनावश्यक कुरामा खर्च गर्ने त छँदैछ, चाउचाउ, पानीपुरी, चिजबल, चटपटेजस्ता सडकमा धुलो तथा फोहोरयुक्त खानेकुरा किनेर खाने गरिरहेका हुन्छन् । यसले एकातिर उनीहरुमा फजुल खर्चको बानी, अर्कोतर्फ स्वास्थ्यमा गम्भीर असर परिरहेको हुन्छ । यसले सिकाइमासमेत प्रत्यक्ष तथा अप्रत्यक्ष असर पारिरहेको हुन्छ ।
यसै कुरालाई ध्यानमा राखेर विद्यालयमा चाउचाउ, पानीपुरी, चिजबल, चटपटे जस्ता जंकफुड तथा सडकमा खुल्ला रुपमा बेच्न राखिएका धुलो तथा फोहोरयुक्त खानेकुरा खान पूर्ण रुपमा निषेध गरेको छ । यसमा अभिभावकबाट आवश्यक सहयोग तथा आफ्ना बालबच्चालाई घरबाटै खाजा पठाउने व्यवस्था व्यवस्था गरिएको छ ।
विद्यालयमा अध्ययनरत हरेक बालबालिकाको बारेमा शिक्षक जानकार बन्नै पर्दछ, उनीहरुको पारिवारिक अवस्थालाई बुझ्ने र उनीहरुलाई सिकाइमा परेको अप्ठेराहरु कसरी समाधान गर्ने भनेर कक्षा शिक्षकमार्फत उनीहरुको नियमित अभिलेख राख्ने कार्य गरिन्छ । हरेक वर्ष शैक्षिक सत्रको सुरुमा प्रत्येक विद्यार्थीको घरमा पुगी उनीहरुको पारिवारिक अवस्था पहिचान गरी अभिलेख राख्ने गरिन्छ ।
बाल क्लबमार्फत विद्यालय हाताको संरसफाइ र सुरक्षाको लागि नेतृत्वदायिक भूमिका निर्वाह गर्नु, विद्यार्थीको आफ्नै प्रयास र शिक्षकको समन्वयमा अंग्रेजी तथा नेपाली भाषामा अलग–अलग भित्ते पत्रिका नियमित प्रकाशन गरिनु, घरमा विद्यार्थीलाई पढाइप्रति बढी अग्रसर गराउन बस्ती स्तरमा नै सिकाइको अभियान गत वर्ष सुरुवात गरिएको थियो ।
जसअनुसार बस्ती स्तरमै बालबालिकाहरु निश्चित दैनिक बेलुकीको समय सामूहिक रुपमा बसेर गृहकार्य गर्ने, सिकाइ आदानप्रदान गर्ने गर्दछन् । उनीहरु समूह नेतामार्फत हरेक दिन पालैपालो त्यसको सिकाइ कक्षाको नेतृत्व गर्ने गर्दछन् । यसले बालबालिकाहरु अनावश्यक खेल्ने र टीभी तथा मोबाइलमा आवश्यकता भन्दा बढी समय दिने प्रवृत्तीलाई न्यून गरेको छ । पढाइप्रति लगाव बृद्धि गरेको छ ।
विद्यार्थीलाई होमवर्क डायरी, हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप, दैनिक पाठयोजनाको आधारमा शिक्षकको कक्षा प्रवेश जस्ता कुराहरु विद्यालयले विद्यार्थी र शिक्षकलाई थप जिम्मेवार बनाउने प्रयास गरेको छ । सामुदायिक विद्यालयमा शिक्षकहरु नियमित विद्यालय जाँदैनन्, वर्षभरी पढाइ हुने दिन कम हुन्छ, पढाइ नियमित नहुने भनेर आलोचना हुने गर्दछ तर यस विद्यालयले वर्षे बिदालाई पनि यस वर्ष कटौती गरेर १५ दिन मात्र बिदा गरेर पढाइ सञ्चालन गरेको थियोे ।
शिक्षण समयावधि बृद्धि भएपछि शिक्षक र विद्यार्थी दुवैलाई सिक्ने र सिकाउने अवसर बृद्धि हुने र त्यसले सिकाइ उपलब्धी बृद्धि गर्न मद्दत गर्ने विद्यालयको अपेक्षा रहेको छ । अभिभावकको अपेक्षा अनुसार अंग्रेजी माध्यमबाट पढाइ भैरहेको छ । विद्यार्थीलाई पढाइप्रति जिम्मेवार बनाउन विभिन्न प्रयासहरु भैरहेका छन् । विद्यालय भौतिक वातावरण सुधारमा सक्रिय हुनुले विद्यालयले अन्य विद्यालयभन्दा फरक पहिचान बनाउन सफल भएको छ ।
विद्यालयप्रति अभिभावको विश्वास जित्न शिक्षकको जति भूमिका छ, त्यति नै भूमिका प्रधानाध्यापकको पनि हुन्छ । परिवारको मूल मानिसको सक्रियताले सिंगो परिवारलाई नै सक्रिय बनाए झै विद्यालयमा पनि प्रधानाध्यापक विद्यालय व्यवस्थापन जति सक्रिय भयो उति सबै टिम सक्रिय रुपमा परिचालित हुन्छ ।
विद्यालयका प्रधानाध्यापक बिहानदेखि साँझसम्म आवश्यक पर्दा विद्यालयमै बसेर पनि विद्यालयका कार्यहरुमा सक्रिय रहनु र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विद्यालयलाई स्रोत जुटाउन निरन्तर लागिरहने भएकाले विद्यालयलाई नमूना बनाउन सहज भएको छ ।
आफ्नो प्रतिस्पर्धी आसपासका कुनै सामुदायिक विद्यालय नभई निजी विद्यालय भएको यो विद्यालयको दाबी छ । चालु शैक्षिक सत्रमा झण्डै एक सय जति विद्यार्थी निजी विद्यालय छाडेर यहाँ भर्ना भएका छन् ।
विद्यालय निर्माणमा अभिभावकको भूमिका महत्वपूर्ण रहेको छ । विद्यालयमा आन्तरिक स्रोतबाट ठूलो संख्यामा शिक्षकहरुको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेकोले अभिभावकहरुबाट आर्थिक सहयोग उल्लेख्य हुने गरेको विद्यालयले जनाएको छ ।
आर्थिक स्रोतको व्यवस्थापनमा विद्यालय व्यवस्थापन समिति र काठमाडौंमा बसोबास गर्ने त्यहाँका स्थानीय व्यक्तिहरुको भूमिका महत्वपूर्ण रहेको छ । पर्याप्त सरकारी अनुदान प्राप्त गर्न नसक्दा आर्थिक रुपले थुप्रै चुनौती सामना गर्नुपर्ने अवस्थाले आन्तरिक भौतिक व्यवस्थापनमा समस्या हुने गरेको विद्यालयका प्रधानाध्यापक कृष्ण ढुंगानाले जानकारी दिनुभयो ।
आगामी दिनमा विद्यालयको शैक्षिक स्तर सुधार गर्दै धेरै अभिभावकको विश्वास जितेर विद्यार्थी संख्या यथेष्ट मात्रामा वृद्धि गर्ने विद्यालयले लक्ष्य राखेको छ ।
विद्यालयले विदाका दिनलाई न्यून गरी पठन–पाठनको दिन वृद्धि गर्ने, होमवर्क डायरी दैनिक छुट्टीको समयमा शिक्षक विद्यार्थी सम्मिलित दैनिक प्रार्थना, जंक फुड निषेध, धेरै विषयहरु जिल्लाका अन्य विद्यालयले पनि अनुसरण गर्दै जान थालेका देखिन्छन् ।
अंग्रेजी माध्यमले अभिभावकमा पार्ने प्रभावबारे धेरै विद्यालय अहिले त्यतातर्फ आकर्षित हुन थालेका छन् । अन्य विद्यालयका तुुलनामा अभिभावकको मन जित्न बढी सफल भएकोमा विद्यालयका शिक्षक तथा समुदायका अगुवाहरु खुशी देखिन्छन् तै पनि यतिले चित्त बुझाउने अवस्था भने नरहेको उनीहरु बताउँछन् ।
केही वर्षमै विद्यालय एउटा फरक पहिचानसहितको नमूना विद्यालयको रुपमा स्थापित बनाउने विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद ढुंगाना बताउनुहुन्छ । साथै विद्यालयमा अझै केही भौतिक निर्माण बाँकि रहेको उहाँको भनाई छ । यो विद्यालयको भवन निर्माणमा कारितास स्वीट्जर्ल्याण्डले सहयोग गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।