‘सर्वोच्चको फैसला कार्यान्वयनअघि नदी किनारमा बस्ने नागरिकसँग छलफल गर्नुपर्छ’

 भदौ १९, २०८१ बुधबार १८:०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ उपत्यकाभित्रका ठूला नदी खोला किनारको दायाँबायाँ थप २० मिटर क्षेत्रभित्र संरचना बनाउनका लागि अनुमति नदिन सर्वोच्च अदालतले आदेश दिएसँगै तटीय क्षेत्रमा बस्नेहरू आतङ्कित भएका छन् । सरकारले यसअघि २०६५ सालमा बागमती, विष्णुमती, मनोहराको २० मिटर क्षेत्रमा संरचना बनाउन नपाइने निर्णय गरेको थियो ।

अहिले सर्वोच्चले ती खोला क्षेत्रमा थप २० मिटर जग्गा छाड्नुपर्ने आदेश दिएपछि त्यस क्षेत्रभित्र बसोबास गर्नेहरूमा चिन्ता थपेको हो । गएको पुसमा सर्वोच्चले खोला क्षेत्रमा थप २० मिटर जग्गा छाड्नुपर्ने भन्दै परमादेश जारी गरेको थियो । त्यो फैसलाको पूर्णपाठ केही दिनअघि मात्रै सार्वजनिक भएको थियाे । पूर्णपाठ सार्वजनिक भएलगत्तै काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले विष्णुमती, बागमती, धोबीखोला र टुकुचा क्षेत्रमा थप २० मिटर छाडेर संरचना बनाउन सूचना निकाल्नुभयो ।

यसमा महानगरपालिकाका उपमेयरसहितका केही वडाध्यक्षहरूले पनि आपत्ति जनाएका छन् । यो विषयले संसद्मा समेत प्रवेश पाएको छ । काठमाण्डौ–३ का सांसद सन्तोष चालिसेले मङ्गलवारको प्रतिनिधिसभा बैठकमा सर्वोच्चको फैसलाले ८० हजार घरपरिवारमा रुवाबासीको अवस्था आएको बताउनुभयो ।

सर्वोच्चको यो फैसला र समस्या समाधानको उपायबारे हामीले शहरी व्यवस्थापनका जानकार प्राध्यापक डा. सामुएल बरण शाँसँग कुरा गरेका छौँ । उहाँको भनाइ जस्ताको तस्तै :

'समाजमा भएका संरचनाको स्वरूप निर्माण गर्दा नयाँ आउने पुस्ताका लागि पनि सोचेर गर्नुपर्छ । सर्वोच्च अदालतको आदेश अहिले हामीले मानेनौं भने पछि ठूलो क्षति हुन सक्छ । खोलानालाको संरक्षणमा ध्यान दिनुपर्छ । त्यसैले काठमाण्डौ उपत्यकाका ठूला नदी–खोलाका दायाँबायाँ थप २० मिटर छाडेर मात्र संरचना बनाउन पाउने सर्वोच्च अदालतको आदेशसँग सहमत जनाउन सकिन्छ ।

काठमाण्डौ महानगरपालिकाले पनि सर्वोच्च अदालतको आदेशको कार्यान्वयन गर्ने भन्दै २० मिटर छाडेर संरचना बनाउन सूचना जारी गरेपछि महानगरपालिका र खोला किनारमा बसोबास गर्ने नागरिकबीच विवाद बढ्ने नै भयो । यो समस्याको समाधान गर्न अनावश्यक बखडा निकाल्नुभन्दा सम्बन्धित ठाउँका बासिन्दालाई सँगै राखेर छलफल गर्नुपर्छ । अहिले सर्वोच्च अदालतको आदेश र महानगरपालिकाको निर्णय शाहसिक मान्नुपर्छ । अहिले भइरहेको खोला किनारको बाटोको संरचना पर्याप्त छैन । बाटो फराकिलो गराउने र नदी खोलाको किनारमा तोकिएको मापदण्ड सबैले अवलम्बन गर्नुपर्छ । यसले भोलिका दिनमा त्यस क्षेत्रमा बस्ने नागरिकलाई नै फाइदा हुने हो ।

अदालतको आदेश बमोजिम बागमती र विष्णुमतीमा ४० मिटर र टुकुचाको २० मिटर वरपर संरचना बनाउन नपाइने भनेपछि बनिसकेको संरचना पनि अवैध हुने भए । सरकारले तोकेका मापदण्डभित्रका खोला किनारका संरचना जसरी पनि हटाउनुपर्छ । पानी बग्ने खोलालाई कसैले अतिक्रमण गर्नु हुँदैन । त्यसैले खोला किनारका नागरिकलाई पनि यत्तिकै विस्थापित गर्नु हुँदैन । त्यहाँका नागरिकसँग केन्द्रीय सरकार र महानगरपालिकाले समन्वय गरेर उनीहरूको व्यवस्थापन गर्नुपर्छ । खोला किनारका नागरिकलाई हटाउनुअघि निश्चित समयसीमा दिनुपर्छ ।

अदालतले सरकारका नाममा दिएका धेरै आदेश कार्यान्वयन भएकाे देखिँदैन । अहिले काठमाण्डौ महानगरपालिकाले सर्वोच्चको आदेशको पालना गर्न खोजेको देखिन्छ । यसमा सबै सरकारी तथा नागरिक तहबाट सहयोग हुनुपर्छ । अझ काठमाण्डौ उपत्यकालाई कसरी सुन्दर र सफा गराउन सकिन्छ भन्नेतर्फ सबैको ध्यान जान जरुरी छ । यदि विकास निर्माणका विषयमा समन्वयात्मक भूमिका निर्वाह गरी काम गर्न सकेनौँ भने हामी जहाँको त्यही हुन्छौँ । नागरिकले भोगिरहेको गाडीको जाम र खाल्डाखुल्डी जस्ताको त्यस्तै रहन्छ । त्यसैले सरकार र महानगरपालिकाले निर्णय मात्र गर्ने नभई गरेका निर्णयको सही तरिकाले कार्यान्वयन गर्नु दायित्व हुन्छ ।

अहिले चलिरहेको विवाद भनेको खोला किनारको बाटो फराकिलो बनाउने सम्बन्धमा हो । यसले त्यहाँ बस्ने मानिसलाई पनि असर गर्नुभएन । सरकार र महानगरपालिका तवरबाट खोला किनारका मानिसलाई जनचेतना गराउनुपर्छ । त्यहाँ बस्ने मानिस सुरक्षित पनि छैनन् अनि विभिन्न स्वास्थ्यका समस्या पनि आउन सक्छ । अर्को कुरा खोला किनारको मापदण्डभित्र बसोबास गर्नु अवैधानिक छ । आज नहटे भोलि जसरी पनि हट्नुपर्छ । त्यसैले सम्बन्धित क्षेत्रका नागरिकको उचित व्यवस्थापन गर्दै सर्वोच्चको आदेश कार्यान्वयनतर्फ अगाडि बढ्नुपर्छ । ' 

(*यसअघि यो समाचारमा शहरी व्यवस्थापन विज्ञको नाम अर्कै पर्न गएकोमा सच्याएका छौं ।)

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया