सरकारले अघिल्लो आर्थिक वर्ष तोकेका लक्ष्यहरुको प्रगति कमजोर

 भदौ २७, २०८१ बिहीबार ८:५६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सरकारले अघिल्लो आर्थिक वर्षका लागि निर्धारण गरेका वार्षिक क्रियाकलाप र लक्ष्यहरुको कार्यप्रगति कमजोर देखिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयले सार्वजनिक गरेको नीति तथा प्रमुख कार्यहरुको वार्षिक प्रगति प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षका लागि निर्धारण गरिएकामध्ये करिब ४२ प्रतिशत क्रियाकलाप र ४८ दशमलव पाँच प्रतिशत लक्ष्य मात्रै सम्पन्न भएको देखिएको हो ।

सरकारले गएको वर्षका लागि आर्थिक क्षेत्रमा कूल चार सय १४ क्रियाकलाप निर्धारण भएकामा एक सय ६७ सम्पन्न भएका, दुई सय २० चालु अवस्थामा रहेका र १९ शुरु नै नभएको प्रतिवेदनले जनाएको छ । पूर्वाधार क्षेत्रमा कूल पाँच सय क्रियाकलाप रहेकामा एक सय नौ सम्पन्न भएका, तीन सय ७४ चालु अवस्थामा रहेका र १७ वटाको काम शुरु भएको छैन ।

यस्तै शासकीय सुधारतर्फ तीन सय ९२ क्रियाकलाप निर्धारण भएकामा दुई सय ११ सम्पन्न भएका, एक सय ५४ चालु अवस्थामा रहेका र २७ वटा शुरु हुन नसकेका देखिएको छ । त्यस्तै, सामाजिक क्षेत्रतर्फ कूल दुई सय ९३ क्रियाकलाप निर्धारण भएकामा एक सय ८१ सम्पन्न, एक सय पाँच आंशिक सम्पन्न र सातवटा शुरु हुन सकेका छैनन् ।

त्यस्तै, सरकारले वार्षिक रुपमा निर्धारण गरेका कूल तीन हजार चार सय ४१ माइलस्टोन अर्थात लक्ष्यमध्ये एक हजार छ सय ५० अर्थात् ४८ दशमलव पाँच प्रतिशत सम्पन्न भएका, एक हजार तीन सय ८५ अर्थात् ४० दशमलव पाँच प्रतिशत आंशिक प्रगति हासिल भएका र तीन सय ७७ अर्थात् ११ प्रतिशत शुरु हुन नसकेका देखिएको छ ।

पर्याप्त पूर्व तयारी, बजेट व्यवस्थापन, जनशक्ति, समन्वय, स्रोत सुनिश्चितता लगायतका अभावले लक्ष्य पूरा हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । 
 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया