लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित

 भदौ २८, २०८१ शुक्रबार १८:५६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित भएको छ । वर्षासँगै आएको बाढी र पहिरोले जनजीवन प्रभावित भएको हो । हिजो बिहानदेखि नै सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । वर्षासँगै कर्णाली, महाकाली लगायतका नदी तथा ती नदीका सहाक नदी र खोलामा पानीको बहाव बढेको छ ।

पछिल्लो २४ घण्टामा डडेल्धुराको साहुखर्कमा दुई सय ६६ र जोगबुढामा दुई सय ४० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ । यस्तै कैलाली, कन्चनपुर, डोटी लगायतका जिल्लामा पनि २४ घण्टामा एक सय ५० मिलिमिटरभन्दा धेरै पानी परेको छ । कैलालीको चिसापानीमा कर्णाली नदीको पानीको सतह १० दशमलव आठ मिटर पुगेको छ ।

यस्तै डडेल्धुराको पारिगाउँमा महाकाली नदीको पानीको सतह आठ दशमलव ७१ मिलिमिटर पुगेको छ । यी दुवै केन्द्रले खतराको घण्टी बजाएका छन् । यस्तै महाकाली नदीले कञ्चनपुर र बबइ नदीले बर्दियामा खतराको तह पार गरेका छन् । कैलालीका विभिन्न ठाउँमा आएको बाढीका कारण ९९ परिवारका चार सय ४४ जनालाई सुरक्षीत स्थानमा सारेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध छ ।

यस्तै केआई सिंह राजमार्ग पनि अवरुद्ध भएको छ । बाढी पूर्वानुमान् महाशाखाले धेरै वर्षा भएका कारण कैलाली, कञ्चनपुर, डडेल्धुरा र डोटीका साना ठूला नदी तथा खोलामा बाढीको जोखिम रहेको जनाएको छ । पछिल्लो एक घण्टादेखि भने सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा वर्षा रोकिएको छ ।

मौसम पूर्वानुमान् महाशाखाले आजराति पनि सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मुसल्धारे वर्षाको सम्भावना रहेको जनाएको छ । भोलिदेखि भने सुदूरपश्चिम प्रदेशमा मुसल्धारे वर्षा रोकिने र कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मुसल्धारे वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया