आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना, धानबालीलाई असर पर्नसक्ने

 असोज ४, २०८१ शुक्रबार १७:२०:१ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी अपनाउन अनुरोध गरेका छन् ।

हिजो/अस्तिको तुलनामा अबको तीन दिन अर्थात् सोमवारसम्म पानी पर्ने क्रम केही बढ्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले देशका विभिन्न ठाउँमा हल्कादेखि केही ठाउँमा ठूलो पानी पर्नसक्ने सम्भावना कायमै रहेको बताउनुभयो ।

विशेषगरी कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने अनुमान छ । त्यस्तै देशका पहाडी र हिमाली क्षेत्रमा आउँदो बिहीवारसम्म नै मौसम आंशिकदेखि साधारणतया बदली तथा वर्षाको सम्भावना छ ।

अहिले सिन्धुपाल्चोकको तार्के घ्याङ, मेलम्ची, ढुङ्गे, भोताङ, दुवाचौर र आसपासको क्षेत्रमा मध्यम वर्षा भइरहेको छ । त्यस्तै आज दिउँसोपछि काठमाण्डौको कपन र पानीपोखरीमा हल्कादेखि मध्यम वर्षा भएको छ । कृषि मौसम बुलेटिनले पनि आउँदो बिहीवारसम्म मौसम बदली र वर्षाको जोखिम रहेकाले किसानलाई सजग रहन अनुरोध गरेको छ ।

यसैबीच कृषि तथा पशुपक्षी मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बर्दिया, बाँकेलगायतका जिल्लामा धान पाकिसकेकाले किसानलाई सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ । पूर्वानुमानअनुसार मध्यम तथा ठूलो वर्षाले पाकेको र पाक्न लागेको धानबालीलाई क्षति पुग्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन किसानलाई उहाँको आग्रह छ ।

जेठ मध्यबाट रोपाइँ शुरू भएको र रोपेको क्षेत्रमा अब धान थन्काउने बेला भएको छ । यो बेलामा अलि ठूलो पानी परेमा धानको बाला झर्ने, पाकेको बाली समयमा थन्काउन नपाएमा कुहिनेजस्ता समस्या हुन सक्छ ।

यस वर्ष मनसुन बेलैमा सक्रिय हुँदा धेरैजसो ठाउँमा रोपाइँ भएको र यसबाट धानको उत्पादन पाँचदेखि सात प्रतिशतसम्म बढ्न सक्ने अनुमानसमेत गरिएको छ । कृषि मन्त्रालयका सूचना अधिकृत जोशीका अनुसार यो वर्ष ९९ प्रतिशत हाराहारीमा रोपाइँ भएको छ । यस कारण उत्पादन बढ्ने अनुमान छ तर धान भित्र्याउने बेलामा मौसमले पनि साथ दिनुपर्छ । २०७८ सालमा असोजको अन्तिम र कात्तिकको पहिलो हप्ता परेको बेमौसमी वर्षाले पश्चिम तराईमा धानबालीमा ठूलो क्षति पुर्‍याएको थियो ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया