आउँदो १२ गतेसम्म देशका धेरै ठाउँमा पानी पर्ने अनुमान

 असोज ८, २०८१ मंगलबार ९:८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – केही दिनदेखि घमाइलो रहेको मौसम आजदेखि बदली भएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको र देशभर मनसुनी वायुको प्रभाव रहेकोले आउँदो १२ गतेसम्म नै बदली हुने र धेरै ठाउँमा पानी पर्ने अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिवारसम्म पानी पर्ने भए पनि निरन्तरको झरी नभएर केहीबेर रोकिँदै अनि पानी पर्दै गर्ने मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । महाशाखाले यसअघि हिजो विशेष बुलेटिन निकालेर मनसुनको असर आज थोरै पर्ने तर भोलिदेखि धेरै  ठाउँमा पानी पर्न सक्ने जानकारी दिएको छ ।

मनसुनी वायुसँगै बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभाव लुम्बिनी र सुदुरपश्चिम क्षेत्रमा बढी छ भने देशैभर बदली भई विभिन्न ठाउँमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । काठमाण्डौ उपत्यकासहित कोशी, बाग्मती, मधेश र गण्डकी प्रदेशका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा हुन थालेको मौसमविद् झाले बताउनुभयो ।

आज दिउँसो लुम्बिनी प्रदेशका पश्चिमी भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षा तथा केही ठाउँमा मध्यम र एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । पर्सि असोज १० गतेदेखि १२ गतेसम्म पूर्वदेखि पश्चिमसम्मका सबै जिल्ला पानी पर्नसक्ने र यसबाट जनजीवन प्रभावित हुने अनुमान छ ।

महाशाखाले इलाम, पाँचथर, तनहुँ, लम्जुङ, कास्की, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, दाङ, सुर्खेत, सल्यान, रुकुम, जाजरकोट, कैलाली, कञ्चनपुर, डडेलधुरा लगायतका २७ जिल्लामा वर्षा र यसको जोखिम रहने जनाएको छ ।

महाशाखाले अहिले पर्ने पानीले कृषि क्षेत्र मुख्यगरी धानबालीमा असर पार्ने देखिएकाले धान काट्नु र थन्क्याउनु अघि मौसमको अध्यावधिक अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ । यस्तै उच्च जोखिममा रहेका जिल्लामा वर्षाको कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको सम्भावना भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया