दशैँअघि तीन हजार ८ सय ५६ किलोमिटर सडक खाल्डारहित बनाउने सरकारको लक्ष्य

 असोज ९, २०८१ बुधबार ९:८:५४ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – दशैँ शुरु हुन अब केही दिन मात्रै बाँकी छ । सरकारले दशैँमा काठमाण्डौ उपत्यका छोड्ने यात्रुका लागि यही असोज १२ गते शनिवारदेखि अग्रिम टिकट खुलाउने निर्णय गरिसकेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले दशैँका लागि १५ देखि १८ लाख मानिसले काठमाण्डौ छाड्ने अनुमान गरेको छ ।

यसका लागि पाँच हजारदेखि छ हजार सार्वजनिक गाडी तयारी अवस्थामा राखिएको छ । काठमाण्डौ उपत्यकामा पनि सुरक्षा व्यवस्था सुस्त पार्ने गरी तयारी भइरहेको छ । कतिपय सडक अहिले पनि निर्माण भइरहेका छन् । कतिपय ठाउँमा मर्मतसम्भारको काम चलिरहेको छ ।

विशेषगरी दशैँअघि तीन हजार ८ सय ५६ किलोमिटर सडक खाल्डारहित बनाउने सरकारको लक्ष्य छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक मर्मतलाई तीव्रता दिँदै घटस्थापनाअघि नै खाल्डाखुल्डी पुर्न र सडक सुरक्षा बढाउन मातहतका निकायलाई निर्देशन दिइसक्नुभएको छ ।

सडक विभागका प्रवक्ता उमेशविन्दु श्रेष्ठले सडक विभाग मातहतपर्ने भत्किएका तथा खाल्डाखुल्डी भएका ठाउँमा मर्मत भइरहेको बताउनुभएको छ । चाडपर्वका बेलामा आवतजावत बढी हुने, गाडीको गति असीमित हुनसक्ने र दुर्घटनाको जोखिम बढ्नसक्ने भएकाले निगरानी र अनुगमनलाई पनि थप प्रभावकारी बनाउने जिम्मेवार निकायले दाबी गरेका छन् ।

सरकारले चालु आर्थिक वर्षका लागि भत्किएका तथा बिग्रिएका सडक मर्मतसम्भारका लागि छ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सडक विभागका अनुसार विभाग मातहत देशभर १८ हजार ९७ किलोमिटर सडक रहेको छ ।

पूर्वाधारविद् राजेन्द्रराज शर्माले सडक निर्माणमा गुणस्तरमा ध्यान नदिने, क्षमताभन्दा बढी लोडको गाडी गुडाउने तथा अन्तरसरकारी निकायबीच प्रभावकारी समन्वयको अभावमा वर्षेनि यात्रुले दुःख पाउने गरेको बताउनुभयो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले दशैँमा आवतजावत गर्नेको सङ्ख्या बढ्ने हुँदा सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै व्यवस्थापन प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको बताउनुभयो ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया