आइतवारसम्म आरीघाेप्टे वर्षाकाे सम्भावना, ५६ वटा जिल्लामा 'रेड अलर्ट'

 असोज ९, २०८१ बुधबार १७:५३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आइतवार बिहानसम्म सात वटै प्रदेशमा ठूलो वर्षा हुने र केही ठाउँमा अति ठूलाे वर्षाको चेतावनी दिएको छ । यो अवधिमा बाढी पहिरोका घटनासमेत बढ्नसक्ने भएकाले महाशाखाले सात प्रदेशका ५६ वटा जिल्लालाई उच्च सावधानी अपनाउनुपर्ने अर्थात् 'रेड अलर्ट' मा राखेको छ ।

वर्षा गराउने प्रणाली नेपाल नजिक झन् शक्तिशाली बनेकाले वर्षा हुने क्षेत्र र असर बढी पर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभएको छ । महाशाखाले धान नकाट्न किसानलाई आग्रह गरिसकेको छ । यस्तै ट्रेकिङमा पनि नजान उहाँको आग्रह छ ।

कोशी, बाग्मती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा ठूलाेदेखि अति ठूलाे वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनीका थोरै तथा कोशी, बाग्मती, मधेश, कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थानमा भने अति ठूलो तहको वर्षाको सम्भावना छ ।

'रेड अलर्ट' भएका जिल्लामा झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम र पाँचथर रहेका छन् । यस्तै, सिरहा, सप्तरी, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाण्डाै, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप रहेका छन् ।

यसैगरी म्याग्दी, बाग्लुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा, मनाङ, रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके र बर्दिया, जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा कैलाली, डोटी र अछाम रहेका छन् ।

बङ्गालको खाडीबाट र अरब सागर दुवैतिरबाट उच्च जलवाष्पसहितको वायु नेपालतिर आइरहेकोले देशभर उच्च वर्षाको सम्भावना रहेको हो । मनसुनको न्यून चापीय रेखा नेपालतर्फ नसरे पनि मनसुन सक्रिय गराउने न्यून चापीय प्रणाली सघनरूपमा विकास भएको हो । यस्तै उपल्लो वायुमण्डलमा पनि न्यून चापीप प्रणाली विकास भएको छ ।

विशेषगरी भोलि दिउँसोपछि ठूलो वर्षाको सम्भावना छ । पछिल्लो २४ घण्टामा इलामको कन्याममा एक सय ५८ दशमलव आठ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै झापाको अनारमणीमा एक सय ३५ दशमलव ८, नवलपरासी पश्चिमको देउरालीमा एक सय चार, कास्कीको लुम्लेमा एक सय ११ मिलिमिटर वर्षा मापन भएको छ ।

नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो । तर यस वर्ष अक्टोबर ७ अर्थात् असोज २१ गतेसम्म रहने अनुमान रहेको मौसमविद्ले बताएका छन् ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया