चीनले चन्द्रमामा जाने यात्रीले लगाउने 'स्पेस सुट' को बाहिरी आवरण सार्वजनिक गर्‍याे

 असोज १३, २०८१ आइतबार १५:१५:५४ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

चीनले चन्द्रमामा जाने यात्रीले लगाउने कपडा अर्थात् 'स्पेश सुट' को बाहिरी आवरण सार्वजनिक गरेको छ । चीनको मानवयुक्त अन्तरिक्ष एजेन्सी (सीएमएसए) ले पहिलो पटक चन्द्रमामा अवतरण गर्ने स्पेस सुटको बाहिरी डिजाइनको अनावरण गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

दक्षिण पश्चिम चीनको चोङ्गकिङ नगरपालिकामा रहेको चीन अन्तरिक्षयात्री अनुसन्धान तथा प्रशिक्षण केन्द्रले आयोजना गरेको तेस्रो स्पेस सुट टेक्नोलोजी फोरममा चन्द्रमामा अवतरण गर्ने क्रममा लगाइने स्पेस सुट सार्वजनिक गरिएको खबरमा उल्लेख छ । स्पेस सुट सुरक्षा सामग्रीबाट बनेको छ जसले चन्द्रमाको तापीय वातावरण र चन्द्रमाको धुलोबाट अन्तरिक्षयात्रीलाई बचाउन सक्छ ।

एकीकृत नियन्त्रण प्यानलले सुसज्जित सुटमा क्लोज–अप र लामो दूरीका दृश्य रेकर्ड गर्नका लागि क्यामेराहरू जोडिएको छ । स्पेस सुटमा लचिलो र भरपर्दो पन्जा, हेलमेट र कम गुरुत्वाकर्षण वातावरणका लागि अनुकूलित प्रणाली जोडिएको छ । यति धेरै सामग्री राख्दा पनि सुट निकै हलुका रहेको र चन्द्रमाको सतहमा हुने गतिविधिहरूका लागि उपयुक्त रहेको खबरमा उल्लेख छ ।

चीनको अन्तरिक्षयात्री अनुसन्धान तथा प्रशिक्षण केन्द्रका अनुसार चन्द्रमामा अवतरण गर्ने स्पेस सुटको विकास सन् २०२० मा शुरू भएको थियो । चीनले सन् २०३० सम्ममा चन्द्रमामा मानवयुक्त यान अवतरण गर्ने योजनासहित पूर्वतयारीका काम गरिरहेको छ ।

अन्तिम अपडेट: असोज १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया