दुई महिनामा ७ अर्ब ५५ करोड रुपैयाँको बिजुली भारततर्फ निर्यात

 असोज २३, २०८१ बुधबार १५:२३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा सात अर्ब ५४ करोड ६१ लाख रुपैयाँको बिजुली भारततर्फ निर्यात भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी बाँकी भएको वर्षायामको एक अर्ब दुई करोड ९२ लाख युनिट बिजुली भारततर्फ निर्यात गरेको छ । दुई महिनाको बिजुली निर्यातको औसत दर प्रतियुनिट सात रुपैयाँ ३३ पैसा रहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढी पहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पुग्दा अहिले बिजुली निर्यात प्रभावित भइरहेको बताउनुभयो । चालू आर्थिक वर्षमा ३० अर्ब रुपैयाँ बराबरको बिजुली निर्यात लक्ष्य राखेर बाढी पहिरोले जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पुर्‍याउँदा बिजुली उत्पादन नै बन्द भई लक्ष्य प्रभावित हुने देखिएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

प्राधिकरणले देशभित्र खपत गरी बाँकी भएको बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन बिजुली बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । प्राधिकरणले अहिलेसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित नौ सय ४१ मेगावाट बिजुली बिक्री गर्न स्वीकृति पाएको छ ।

बाढी बहिरोभन्दा पहिले दैनिक नौ सय मेगावाटको हाराहारीमा बिजुली निर्यात भइरहेको थियो । अहिले दैनिक डेढ सय मेगावाटको हाराहारीमा मात्र निर्यात भइरहेको छ । बाढी पहिरोका कारण सञ्चालमा रहेको सबैभन्दा ठूलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशीसहित झन्डै सात सय ५० मेगावाट बिजुली उत्पादन बन्द छ ।

गएको आर्थिक वर्षमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको बिजुली निर्यात गरी नेपाल खुद बिजुली आयातकर्ताबाट खुद बिजुली निर्यातकर्ता बनेको थियो ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया