विदेशी मुद्रा सटही सुविधाको सीमा बढ्यो, सेवा व्यापारको लागि पनि सटही सुविधा

 कात्तिक १, २०८१ बिहीबार ७:३८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले व्यापार, उपचार र शिक्षाको लागि विदेशी मुद्रा सटही सुविधाको सीमा बढाएको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र २०८० संशोधन गर्दै आयातकर्ताका लागि सटही सुविधामा सहुलियत दिएको हो । नेपाली नागरिकले विदेशमा उपचार गर्न वा स्वास्थ्य उपकरण खरीद गर्नका लागि १० हजार डलरसम्म सहटी सुविधा पाउँदै आएकोमा बढाएर १५ हजार डलर पुर्‍याइएको छ ।

यस्तै विदेशी विश्वविद्यालयको सम्बन्धनमा खुलेका शिक्षण संस्थालाई सम्बन्धन, परीक्षा लगायतका शुल्कहरुको भुक्तानीको लागि १२ हजार डलरसम्म सटही सुविधा उपलब्ध हुँदै आएकोमा बढाएर २५ हजार डलर बनाइएको छ ।

हवाईजहाज, दूरसञ्चार र स्वास्थ्य उपकरणका पार्टपूर्जाहरू तत्कालै विदेशबाट मगाउनु परेमा र विक्रेताले उधारोमा दिएमा अधिकतम अमेरिकी डलर १० हजार मूल्यसम्मका सामानहरू अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट आयात गर्न सकिने सीमालाई बढाएर एक लाख डलर पुर्‍याइएकाे छ ।

यस्तै राष्ट्र बैंकले सेवा व्यापारका लागि पनि सटही सुविधा दिने भएको छ । विदेशबाट रकम प्राप्त भएका आधारमा भारत तथा तेस्रो देशबाट आयात भएको सेवा भारतसहित अरू देशमासमेत निर्यात गर्न पाइने भएको हो । अब विदेशबाट विदेशी मुद्रा प्राप्त भएका आधारमा फर्म, कम्पनी, संघसंस्थाले भारत तथा तेस्रो देशबाट सेवा आयात गरी भारतसहित अरू देशमा निर्यात व्यापार गर्न सक्नेछन् । यसरी सेवा व्यापार गर्दा विदेशी मुद्रा प्राप्त गर्ने सम्बन्धित वाणिज्य बैंकले विदेशी मुद्रा सुविधा उपलब्ध गराउन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

निर्यात रकम विदेशबाट सम्बन्धित वाणिज्य बैंकमा विदेशी मुद्रामा नै प्राप्त भएको हुनुपर्ने राष्ट्र बैंकको शर्त छ । यसरी प्राप्त रकम ननाघ्ने गरी निर्यात रकम प्राप्त गर्ने सम्बन्धित वाणिज्य बैंकले तेस्रो देशका हकमा १२ हजार अमेरिकी डलर र भारतका हकमा ३० लाख भारु सीमाभित्र रहने गरी आयातका लागि भुक्तानी सुविधा उपलब्ध गराउन सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया