जलन पीडितको निशुल्क उपचार गर्ने तयारी अन्तिम चरणमा

 कात्तिक ४, २०८१ आइतबार १८:५३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले जलन पीडितको निःशुल्क उपचार प्रयास शुरु गरेको छ । गएको शुक्रवारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले प्रस्तुत गर्नुभएको त्यससम्बन्धी प्रस्तावलाई स्वीकार गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार मन्त्री प्रदीप पौडेलले प्रस्तुत प्रस्तावलाई सरकारले स्वीकार गरेको तथा त्यससम्बन्धी निर्णय चाँडै सार्वजनिक हुने बताउनुभयो । जलन पीडितहरूको निःशुल्क उपचारको व्यवस्था गर्नेसम्बन्धी प्रावधान चाँडै सार्वजनिक हुने उहाँको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयले कोशी प्रदेशमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेस प्रदेशमा नारायणी अस्पताल, बागमती प्रदेशमा कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा ज्वलन उपचारको निःशुल्क व्यवस्था गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा प्रस्तुत गरेको थियो ।

देशमा वार्षिक ५७ हजार मानिस ज्वलनबाट प्रभावित हुने गरेका स्वास्थ्य मन्त्रालयको अनुमान छ । ज्वलनको उपचार महङ्गो भएकाले उपचार नपाएर धेरैले ज्यान गुमाउने गरेका छन् । देशमा ज्वलनको मात्र उपचार गर्ने विशिष्टिकृत अस्पताल छैनन् ।

यद्यपि काठमाण्डौ उपत्यका केही ठूला अस्पतालले ‘बर्न युनिट’बाट सेवा प्रवाह गर्दै आएका छन् । कीर्तिपुर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल अस्पतालले आगो तथा एसिडलगायत पदार्थले पोलेका बिरामीको उपचार गर्दै आएका छन् । देशको सबैभन्दा पुरानो वीर अस्पतालले पनि गएको भदौदेखि बर्न युनिट सञ्चालन गरेको छ ।

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया