काठमाण्डौको फोहोरले सिसडाेल र बञ्चरेडाँडामा सास्ती

 कात्तिक ५, २०८१ सोमबार ११:३७:४० | भाेजेन्द्र बस्नेत
unn.prixa.net

प्रतीकात्मक तस्वीर

काठमाण्डाै – हरियाली डाँडाले घेरिएको सुन्दर बस्ती नुवाकोटको सिसडाेल र बञ्चरेडाँडामा पुग्दा सही नसक्नुको दुर्गन्ध आउँछ । शहरभन्दा टाढै रहे पनि बान्ता हुने खालको दुर्गन्धसँगै आँखा पोल्छ । सङ्घीय राजधानी काठमाण्डौबाट नजिक रहेको सिसडाेलवासीले यो समस्या भोगेको कैयौं वर्ष भयो । नुवाकोट र धादिङको सीमा क्षेत्रमा रहेको बञ्चरेडाँडा र आसपासमा पनि केही वर्षदेखि समस्या बढ्दो छ ।

यो समस्या स्थानीय फोहोरका कारण नभई सङ्घीय राजधानी रहेको काठमाडौ उपत्यकाबाट लगेर थुपारिएको फोहोरका कारण भएको हो । दुर्गन्ध र फोहोरका कारण आउने झिँगा, स्याल, कुकुर लगायतबाट दिक्क भएका स्थानीय बासिन्दा समस्या झेलेरै बस्नुपरेको बाध्यता सुनाउँछन् ।

हरियो डाँडाबीचको गाउँमा स्वस्थ हावामा रमाउन पाउनुपर्ने हो । तर हरेक क्षण नाक थुन्नुपर्छ । सिसडाेलमा २०६२ साल जेठ २२ गतेदेखि काठमाण्डौ उपत्यकाको फोहर थुपार्न शुरू भएको हो । तीन वर्षका लागि भनिएको सिसडाेलमा झन्डै १८ वर्ष फोहोर थुपारेपछि अहिले बञ्चरेडाँडामा थुपारिँदैछ । 

दुर्गन्धसँगै झिँगाको बिगबिगी

यसअघि फोहोर थुपारिएको सिसडाेल र अहिले थुपारिँदै गरेको बञ्चरेडाँडा दुवै ल्यान्डफिल साइट नजिकै बस्ती छ । कुहिने फोहोर पनि लगेर थुपारिँदै आएकोले चर्को दुर्गन्ध आउँछ । ल्यान्डफिल साइट आसपासका बासिन्दाले भोगेको समस्याबारे सरकारलाई झकझकाउँदै आउनुभएका श्रीराम ढुंगाना आफूहरू फोहोरका कारण समस्यापूर्ण जीवन बाँचिरहेको बताउनुहुन्छ ।

ढुंगाना भन्नुहुन्छ, ‘गर्मी शुरू हुन नपाउँदै भोग्नुपर्ने झिँगाको समस्या जाडो बढिसक्दा सम्म रहन्छ, झिँगा हम्किँदै खाना खानुपर्छ, खेतबारीमा काम गर्नसमेत समस्या हुन्छ । झिँगासँगै स्याल र भुस्याहा कुकुरहरूको बिगबिगी पनि बढेको छ । दुर्गन्ध त सँधैभरि रहेकै छ । साँच्चै भन्ने हो भने काठमाण्डौको फोहोरले हाम्रो जीवन नारकीय बनाइदिएको छ ।’

दुई दशक अघिसम्म गाउँ शान्त थियो । स्वस्थ हावापानी थियो । खेतीपातीमा रमाएका बासिन्दा आफ्ना उत्पादन बोकेरै भए पनि बजारसम्म लैजान्थे । तर जब २०६२ सालमा उपत्यकाको फोहोर गाउँ पस्न थाल्यो, त्यसपछि गाउँलेका दुःखका दिन शुरू भए । शुरूमा त गाउँमा बाटो आउँछ र आफ्ना उत्पादन गाडी चढाएर बजारमा लैजान पाइन्छ भन्ने कुराले स्थानीय बासिन्दा खुशी थिए । तर जब फोहोरको गन्धले घरमै बस्ने नसक्ने अवस्था आयो त्यसपछि उनीहरूले आफूहरू ठगिएको महसूस गरे । फोहोर खुला छाड्दा दुर्गन्ध गाउँभरि फैलियो भने फोहोरबाट निस्कने झोलको व्यवस्थापन नगर्दा खोलामा मिसियो । यसले खेती र पशुपालन पनि प्रभावित भएको स्थानीय बासिन्दा कृष्णकुमार घिमिरे बताउनुहुन्छ ।

रोगको जोखिम

दुर्गन्ध र झिँगालगायतका कारण ल्यान्डफिल साइट आसपासमा सरुवा रोगको जोखिम सँधैभरि रहन्छ । श्वासप्रश्वासजन्य सरुवा रोगसँगै झाडापखाला फैलनु आफूहरूका लागि सामान्यजस्तै भएको ढुंगाना बताउनुहुन्छ । सरुवा रोगसँगै गाउँमा क्यान्सर पत्ता लाग्ने क्रम पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढेको उहाँले बताउनुभयो ।

फोहर फाल्ने सम्झौता गर्दा सरकारले कोल्पुखोलाको पानी पिउनयोग्य हुनेगरी व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको थियो । तर अहिले खाेलामा फोहोरको लेदो बग्छ । फोहोरबाट निस्कने झोल अर्थात् लिच्चडको कुलो सिधै कोल्पुखोलामा मिसिन्छ । खोलाको पानी प्रदूषित भएपछि घाउ चोट लागेकाले खोला तर्दा रोग लागेर मरेका घटना रहेको उहाँले बताउनुभयो । पशुचौपायामा छालाको रोग धेरै देखिने गरेको छ ।

फोहोर लैजाने सम्झौतामा एक गाडी फोहोर हालेपछि माटोले पुरेर व्यवस्थापन गर्ने उल्लेख छ । तर अहिले मरेका जीवको अवशेषसमेत दुर्गन्धित अवस्थामा फालेको देखिन्छ । फोहोर छोप्ने र गन्ध हटाउने काम गरिरहेको दाबी गरे पनि न फोहोर छोपिएको छ न त दुर्गन्ध हटेको छ ।

अवस्था खराब छ : अध्ययनको निष्कर्ष

सिसडोल ल्यान्डफिल साइटको स्थलगत अध्ययन गरेका विज्ञहरूले त्यहाँको अवस्था खराब रहेको बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को टोलीले दुई वर्षअघि ल्यान्डफिल साइटमा पुगेर अध्ययन गरेको हो ।

टोलीमा संलग्न वैज्ञानिकहरूले त्यहाँ फोहोर फाल्ने ठाउँ सकिएको मात्रै नभई थुपारिएको फोहोर पनि लामो समयका लागि जोखिम रहेको बताएका हुन् । काठमाण्डौ महानगरपालिकाको आग्रहमा भएको अध्ययनमा कोल्पुखोलाका तीन फरक ठाउँबाट पानीको नमूना सङ्कलन गरेको टोलीमा संलग्न नास्टकी वैज्ञानिक डा. टिष्टा प्रसाईँ जोशीले बताउनुभयो ।

सङ्कलित नमूनाहरू मानव स्वास्थ्यका लागि घातक रहेका र लिचेट सङ्कलन हुने पोखरीहरू पुरिएका कारण त्यो सिधै बगेर खोलाको पानीमा मिसिने गरेको देखिएको टोलीले जनाएको छ । फोहोर मिसिएभन्दा निकै तलसम्म जलचर हुने सम्भावना कम देखिएको छ । यसको अर्थ मानिसलाई धेरै हानी गर्छ ।

फोहोरको वर्गीकरण आवश्यक

त्रिचन्द्र कलेजकी उपप्राध्यापक एवम् फोहोर व्यवस्थापन विज्ञ डा. ज्योति गिरी ल्यान्डफिल साइट आसपासका बासिन्दालाई समस्या आउन नदिन सकेसम्म कुहिने फोहोरलाई त्यस्ता ठाउँमा पुर्‍याउनै नहुने बताउनुहन्छ । शहरी क्षेत्रबाट निस्कने ठूलो मात्राको कुहिने फोहोर पनि ल्यान्डफिल साइटमा लगेर थुपार्दा दुर्गन्ध, रोगको जोखिमजस्ता समस्या स्वाभाविक भएको उहाँको भनाइ छ । यसैले कुहिने फोहोरलाई अस्थायी रूपको थुपार्ने ठाउँमै व्यवस्थापन गर्नुपर्ने उहाँको सुझाव छ ।

काठमाण्डौमा घर तथा सडकबाट सङ्कलन गरिएको फोहोर निश्चित ठाउँमा लगेर केही समय राखी त्यसपछि मात्रै ल्यान्डफिल साइटमा लगिन्छ । जस्तो महानगरले टेकुमा थुपारेर केही छुट्याउने काम पनि गर्छ । त्यस्ता ठाउँमा कुहिने फोहोर छुट्याएर पशुपक्षीको दाना, कम्पोस्ट मललगायत बनाउने, नकुहिनेमा पनि पुनः प्रयोग हुन सक्नेलाई छुट्याएर बाँकी मात्रै ल्यान्डफिल साइटमा लगेमा समस्या कम हुने उहाँको भनाइ छ ।

तर घरघरबाट कुहिने र नकुहिने फाेहोर एकै ठाउँमा सङ्कलन गर्दा त्यसपछि छुट्याउन कठिन हुने भएकोले स्रोतमै वर्गीकरण गर्नुपर्ने हुन्छ । फोहोर उत्पादक अर्थात् सबै घर, पसल, होटललगायतले फोहोरको वर्गीकरण गरी व्यवस्थापन गरेमा ल्यान्डफिल साइटको दुर्गन्ध कम हुने डा. गिरी बताउनुहुन्छ ।

यस्तै अहिले ल्यान्डफिल साइटमा भइरहेको समस्या हटाउन वनस्पति र माटोमा हुने सम्बन्धित जीवाणु प्रयोग गरेर पर्यावरणमा भएका प्रदूषक तत्त्वहरूको मात्रा वा विषाक्त प्रभाव घटाउने र धेरै मात्रामा धातु सङ्ग्रह गर्ने अनि बढी बायोमास भएका वनस्पतिहरू उमारेर पर्यावरणबाट धातु वनस्पतिमा सार्ने काम गर्न सकिने उहाँले बताउनुभयो । यसका लागि सरकारले विज्ञहरू परिचालन गरेर काम गरेमा अहिलेभन्दा निकै राम्रो अवस्थामा ल्याउन सकिने डा. गिरी बताउनुहुन्छ ।

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया