डेडिकेटेड र ट्रङ्क लाइन विवाद : लाइन काट्नै नहुने मन्त्रीको तर्क, महसूल उठाउनैपर्ने घिसिङको अडान

 कात्तिक ८, २०८१ बिहीबार १४:२९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – डेडिकेटेड र ट्रङ्क लाइन महसूलबारे निर्णय गर्न बसेको नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठक निष्कर्षविहीन भएको  छ ।

आजको बैठकमा डेडिकेटेड र ट्रङ्क लाइन महसूलबारे एजेन्डा समावेश थिएन तर बैठकको धेरैजसो समय यही विषयमा केन्द्रित थियो । ऊर्जामन्त्री दीपक खड्का सञ्चालक समितिको बहुमतबाट उद्योगीको लाइन नकाट्ने निर्णय गराउने पक्षमा भए पनि सञ्चालक समितिका दुई जना सदस्य भक्तबहादुर पुन र कपिल आचार्य अनुपस्थित रहेका कारण निर्णय हुन सकेन ।

बैठकमा ऊर्जामन्त्री खड्काले उद्योगीको लाइन काट्दा हरेक दिन अर्बाैं रुपैयाँको नोक्सानी हुने भन्दै लाइन काट्न नहुने बताउनुभएको छ । उहाँले यो विषय लेखा समितिमा पनि विचाराधीन रहेकाले विकल्प खोज्नुपर्ने बताउनुभएको छ ।

तर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीलाई पटक पटक समय दिए पनि महसूल तिर्नुको साटो अनेक बहाना गरिरहेकाले जसरी भए पनि महसूल उठाउनुपर्ने बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरणले गएको असार ९ गते ९० दिनको समय तोक्दै उद्योगीहरूलाई महसूल बुझाउन आग्रह गरेको थियो । ९० दिन आज सकिँदैछ ।

यसैबीच सञ्चालक समितिको बैठकबाट कुनै निर्णय नभएपछि विद्युत् प्राधिकरणले अहिले केही उद्योगी व्यवसायीसँग छलफल गरिरहेको छ । प्राधिकरणसँग सम्पर्कमा रहेका केही उद्योगीलाई छलफलका लागि बोलाएको घिसिङले बताउनुभयो । महसूल तिर्नका लागि किस्ताबन्दीलगायतका विषयमा सहजीकरण गर्न आफूहरू तयार रहेको तर महसूल नै नतिर्ने नियतमा रहेका उद्योगी व्यवसायीको भने लाइन काट्नुको विकल्प नरहेको घिसिङले बताउँदै आउनुभएको छ ।

गएको असारमा विद्युत् प्राधिकरणले महसूल नतिर्ने उद्योगको लाइन काटिदिएको थियो तर प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्रीको दबाबमा पुन लाइन जोडिएको छ । उद्योगको लाइन काटेको विषयमा प्रधानमन्त्री ओलीले संसद्को रोस्ट्रमसहित सार्वजनिक कार्यक्रमबाटै असन्तुष्टि जनाउँदै आउनुभएको छ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया