मुक्तिनाथमा दैनिक ४ हजार जनासम्म दर्शनार्थी पुग्न थाले

 कात्तिक ८, २०८१ बिहीबार १८:२३:५३ | रासस
unn.prixa.net

तस्वीर : रासस

म्याग्दी – हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थलका रूपमा परिचित मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । दशैँ सकिएलगत्तै मुक्तिनाथमा दैनिक झन्डै चार जनासम्म धार्मिक पर्यटकको आगमन हुन थालेको हो ।

मौसम सफा भएसँगै मुक्तिनाथ दर्शन गर्न र मुस्ताङको पर्यटकीय स्थलहरूको भ्रमणमा आउने पर्यटक उल्लेख्य मात्रामा वृद्धि भएका मुक्तिनाथ विकास समितिका व्यवस्थापक रबिन सुवेदीले बताउनुभयो । उहाँका अनुसार पछिल्लो एक हप्तायता दैनिक चार हजार जनाभन्दा धेरै धार्मिक पर्यटकले मुक्तिनाथ मन्दिरको दर्शन गरिरहेका छन् ।

दशैँ तिहारको बिदाको समयलाई उपयोग गर्दै दैनिक हजारौं पर्यटक म्याग्दी हुँदै मुस्ताङ भित्रिने गरेका छन् । मुस्ताङ भित्रिएका पर्यटकमध्ये धेरैजसाेको पहिलो रोजाइ मुक्तिनाथ पर्ने गरेको छ । मन्दिर नजिक रानीपौवा बजार क्षेत्रमा ३५ वटा सुविधायुक्त होटल सञ्चालनमा रहेका बताउँदै व्यवस्थापक सुवेदीले अहिले सबै होटल दैनिकजसो धार्मिक पर्यटकले भरिभराउ हुने उल्लेख गर्नुभयो ।

इलाका प्रहरी कार्यालय मुक्तिनाथका अुनसार अहिले आउनेमध्ये ८० प्रतिशत आन्तरिक पर्यटक छन् । विदेशी पर्यटकमध्ये धेरैजसाे छिमेकी देश भारतका छन् । चक्रिय अन्नपूर्ण पदमार्गको थोराङ भञ्ज्याङ चढेर आउने तेस्रो देशका पर्यटकले पनि मुक्तिनाथको दर्शन गर्ने गरेका मुक्तिनाथ विकास समितिले जनाएको छ ।

बिदाको समयमा विद्यालय, क्याम्पस, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि तथा युवा सडकमार्ग प्रयोग गरेर मुक्तिनाथ पुग्ने गरेका विकास समितिका व्यवस्थापक सुवेदीले बताउनुभयो ।

सामान्य अवस्थामा मन्दिर दिउँसो १२ देखि १ बजेसम्म बन्द रहने भए पनि दशैँलगत्तै दिनभर भक्तजनको घुइँचो लाग्न थालेपछि बिहानदेखि बेलुकीसम्म पूजाआजा र दर्शनका लागि मन्दिरलाई खुला गरिएको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

‘भक्तजनलाई लाइनमा बसेर सहज रुपमा पूजा र दर्शन गर्ने प्रबन्ध मिलाएका छौँ । अशक्त र वृद्धवृद्धाले लाइन बस्नु पर्दैन । मुक्तिनाथको महिमा र प्रचारप्रसारले प्रत्येक वर्ष यहाँ आउने दशनार्थीको सङ्ख्यमा उल्लेख्य वृद्धि हुँदै गएको छ’, उहाँले भन्नुभयो ।

मुक्तिनाथमा दर्शन गर्नाले मनोकामना पूरा हुने र सुख, शान्तिको बास हुने जनविश्वास रहेको छ । मन्दिर परिसरमा रहेका एक सय आठ धारा र मन्दिरको अगाडि रहेको जलकुण्डमा स्नान गरेपछि मन्दिरमा पूजा गर्ने चलन रहेको पुजारी सुवेदीले जानकारी दिनुभयो ।

मुक्तिनाथ आउने धार्मिक पर्यटकका कारण मुस्ताङको कागबेनी, मुक्तिनाथ, जोमसोम, मार्फा, लेतेसहित म्याग्दीका धेरैजसाे होटल भरिभराउ भएका छन् । पर्यटकको आगमन बढे्सँगै आयआर्जन वृद्धि भएको स्थानीय व्यापारी बताउँछन् ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया