उपचुनावको सरगर्मी बढ्यो : दलहरुले उम्मेदवारको अन्तिम टुङ्गो लगाउँदै

 मंसिर १, २०८१ शनिबार ९:५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मङ्सिर १६ गते रिक्त पालिकामा हुने उपचुनावका लागि प्रमुख दल उम्मेदवारको अन्तिम टुङ्गो लगाउन जुटेका छन् । नेकपा (एमाले) ले सबैजसो उम्मेदवारको टुङ्गो लगाए पनि कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले केही बाहेक उम्मेदवार चयन गर्न सकेका छैनन् ।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले रिक्त रहेका ४४ मध्ये ४२ पदमा उम्मेदवारको टुङ्गो लागेको र बाँकी दुई पदको पनि आज अन्तिम निर्णय हुने जानकारी दिनुभयो । उहाँका अनुसार काठमाण्डौको कीर्तिपुर नगरपालिकामा मेयर र एक वडाध्यक्ष पदका लागि उम्मेदवार निर्णय हुन बाँकी छ ।

कांग्रेसबाटै मेयरमा जितेका राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुर नगरपालिकामा उपचुनाव हुन लागेको हो । तर कांग्रेसलाई कीर्तिपुरमा मेयरको उम्मेदवार तय गर्न सकस देखिएको छ ।

माओवादीले कीर्तिपुरको मेयरमा प्रा.डा.शिवशरण महर्जन, एमालेले डा.सुरेन्द्र मानन्धर र राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवारमा सिफारिश गरिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पनि उम्मेदवार चयनमा सकस परेको छ ।

उपचुनावका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ । सत्तामा सहकार्य भए पनि उपचुनावमा तालमेल वा सहकार्य नभएको कांग्रेस र एमालेले जनाएका छन् । सरकारबाहिर रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालले पनि छुट्टाछुट्टै उम्मेदवारी दिने गरी तयारी गरेका छन् ।

निर्वाचन आयोगका अनुसार मङ्सिर १६ मा जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिकाको अध्यक्ष दुई, उपाध्यक्ष तीन, वडाध्यक्ष ३५, नगरपालिकाको मेयर र उपप्रमुख एक/एक गरी ४४ पदमा उपचुनाव हुनेछ ।

यसैबीच उपचुनावका लागि ३८ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन् । ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र छ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ ।

उपचुनाव हुने सम्बन्धित पालिका तथा वडाको केन्द्र रहेको ठाउँमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।

भोलि उम्मेदवारको मनोनयन दर्ता, ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम छ ।
 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया