उपचुनावका लागि आज मनोनयन दर्ता

 मंसिर २, २०८१ आइतबार ६:१७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यही मङ्सिर १६ गते हुने रिक्त पालिकाको उपचुनावका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० देखि बेलुका ५ बजेसम्म सम्बन्धित पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।

उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र आजै बेलुका ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ । उपचुनावका लागि अस्ति शुक्रवार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय र छ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ ।

उपचुनाव हुने सम्बन्धित पालिका तथा वडाको केन्द्र रहेको ठाउँमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो । भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, त्यसपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवम् निर्णय गरी पर्सि मङ्सिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

मङ्सिर ५ गते बिहान ९ देखि दिउसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन् । त्यसै दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका छ । मङ्सिर १६ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

विभिन्न कारणले रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका मेयर र उपमेयर एक/एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा उपचुनाव हुँदैछ । 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया