वायु प्रदूषण : पाकिस्तानको लाहोर र मुल्तानमा लकडाउन, मुख्यमन्त्री उपचारका लागि युरोपमा

 मंसिर ४, २०८१ मंगलबार १८:२४:० | एजेन्सी
unn.prixa.net

तस्वीर : एएफपी

वायु प्रदूषण अति घातक अवस्थामा पुगेपछि पाकिस्तानको पञ्जाब सरकारले लाहोर र मुल्तान शहरमा स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।

हावाको गुणस्तर मापन सूचक एक्यूआई दुई हजारभन्दा माथि पुगेपछि प्रान्तीय सरकारले दुई वटा शहरमा स्वास्थ्य आपत्कालसहित पर्सि शुक्रवारदेखि तीन दिनका लागि लकडाउन घोषणा गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रान्तीय सरकारले तीन दिनका लागि विद्यालय, कार्यालय, पसल व्यवसाय बन्द गर्नुका साथै डिजेल र पेट्रोलबाट चल्ने सबै गाडी सञ्चालनमा रोक लगाएको हो । यदि अवस्था सुधार नभएमा आउँदो बुधवारसम्म नै लकडाउन हुने प्रान्तीय सरकारको सूचनामा उल्लेख छ ।

वायु प्रदूषण अत्यधिक भएको लाहोर शहरमा एक करोड ४० लाख जना मानिस बस्छन् । यहाँ एक्यूआई दुई हजार नाघेको र यो संसारमा मापन भएको अहिलेसम्मकै धेरै रहेको मानव अधिकारवादी संस्था ह्युम्यन राइटस् वाचले जनाएको छ ।

पञ्जाबमा गएको एक हप्तामा मात्रै ६ लाख जनाभन्दा धेरै मानिस श्वासप्रश्वाससम्बन्धी समस्या लिएर अस्पताल पुगेका थिए । उनीहरूमध्ये ६५ हजार जना मानिसलाई अस्पतालमा भर्ना गर्नुपर्दा अस्पताललाई बिरामीको व्यवस्थापनमा समस्या देखिएको छ ।

पञ्जाबका मुख्यमन्त्री मरियम नवाज पनि घाँटीमा गम्भीर खालको सङ्क्रमण भएपछि उपचारका लागि युरोप जानुभएको भन्दै ह्युम्यन राइटस् वाचले पञ्जाबवासीको स्वास्थ्यमा ख्याल गर्न आग्रह गरेको छ ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया