शेयर बजार सामान्य बढ्यो, विकास बैंक समूह भने राताम्मे
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – नेपालले पहिलोपल्ट अन्तर्राष्ट्रिय अदालतमा जलवायु परिवर्तनको अवस्था र यसका कारण नेपालमा परेको असरका बारेमा आफ्नो अवस्था सुनाउँदै जलवायु न्यायको माग गरेको छ ।
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असरबारे जानकारी गराउँदै पाउनुपर्ने क्षतिपूर्तिको सुनिश्चतताको माग गर्नुभएको हो ।
विश्वका धनी तथा विकसित देशहरुले कार्बन उत्सर्जन गर्दा नेपालजस्ता देशलाई परेको असरका साथै यसका कारण नेपालले पाउनुपर्ने क्षतिपूर्तिका विषयमा केन्द्रित रही मन्त्री डा. राणाले अदालतमा नेपालको धारणा राख्नु भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।
अदालतको सुनुवाइका क्रममा उहाँले जलवायु परिवर्तनका कारकमा नेपालको योगदान अति नगण्य छ तर पनि अहिले जलवायुजन्य सङ्कटसँग जुध्नका लागि आवश्यक स्रोतको अभाव झेलिरहेको बताउनुभयो ।
नेपालको भौगोलिक अवस्थिति र विकासको स्तरका कारण जलवायु परिवर्तनको प्रतिकूल असर देखिएको मात्र नभई नेपाल उच्च जोखिममा रहेको उहाँले बताउनुभयो ।
इसिमोडको हालैको एक अध्ययनले अहिलेकै अनुपातमा हिउँ पग्लिँदै जाने हो भने हिन्द कुश हिमालय क्षेत्रका हिमनदीहरुले यो शताब्दीको अन्त्यसम्ममा हाल विद्यमान अवस्थाको ८० प्रतिशतसम्म हिउँ गुमाउने देखाएको दृष्टान्त पेश गर्दै मन्त्री डा.राणाले यसका कारण उच्च पहाडी क्षेत्रहरुमा बाढी पहिरोका साथै अन्य पूर्वाधारसम्बन्धी समस्या थप बढ्ने खतरा रहेको बताउनुभयो ।
नेपालले यस वर्ष धेरै मात्रामा जलवायुजन्य विपदहरूको सामना गर्नु परिरहेको, बाढी पहिरोमा परेर तीन सय जनाको ज्यान जानुका साथै पिउने पानी, सडक, ऊर्जा, सिँचाइ तथा कृषिसम्बन्धी पूर्वाधारमा ठूलो क्षति पुग्दा देशमा एक अर्ब तीन करोड अमेरिकी डलरभन्दा बढीको नोक्सानी भएको जानकारी मन्त्री डा.राणाले अन्तर्राष्ट्रिय अदालतलाई गराउनुभएको छ ।
यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र परराष्ट्र मन्त्रालयका उपसचिव शुभाङ्ग पराजुलीले पनि सुनुवाइका क्रममा जलवायु परिवर्तनका क्षेत्रमा नेपालको अवस्था र व्यवस्थाको जानकारी गराउँदै नेपालले जलवायु न्याय प्राप्त गर्न पाउनुपर्ने तर्कहरु प्रस्तुत गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घीय महासभाको आदेशअनुसार अन्तर्राष्ट्रिय अदालतले जलवायु न्यायका लागि सुनुवाइ गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।