कालोबजारीमै बिक्छ अनुदानमा आएको गहुँको बीउ, किसान समस्यामा

 पुस २, २०७५ सोमबार १५:१५:५४ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – प्रदेश नम्बर २ ले यहाँका किसानहरुका लागि अनुदानमा सहजै तरीकाबाट गहुँको बीउ उपलब्ध गराउने गरे पनि यहाँका किसानहरुले अनुदानको गहुँको बीउ पाउन सकेका छैनन् ।

अनुदानको गहुँको बीउमा सप्तरीमा व्यापक मात्रामा कालोबजारी भइरहेको तथ्य फेला परेको छ । गहुँ छर्नका लागि खेत जोतेर तयारी अवस्थामा राख्दा पनि बीउ नपाएपछि सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर–१, बरही बिरपुरका किसान वौआलाल यादव यतिबेला जमिनमा के लगाउने भनेर छट्पटिनुभएको छ ।

झण्डै दुई सातादेखि बीउका लागि दिनहुँजसो सदरमुकाम राजविराज धाउने गरे पनि बीउ नपाएपछि उहाँ निराश हुनुभएको हो । बाली लगाउने समय घर्किंदै गएपनि अहिलेसम्म बीउ फेला पार्न नसकेको उहाँले गुनासो गर्नुभयो । यादव जस्तै अहिले जिल्लाका अधिकांश किसानले यतिबेला गहुँको बीउ अभावका कारण सास्ती झेल्नु परेको छ । कृषि ज्ञान केन्द्र सप्तरीका अनुसार समयमा आवश्यकता अनुसारको बीउको उपलब्ध हुन नसक्दा सप्तरी र सिराहामा अभाव भएको हो ।

गएको मंसिर ९ गते मात्र गहुँको बीउ खरिदका लागि प्रदेश सरकारले निर्देशन दिएको र बाली लगाउने बेला नजिकिँदै गरेको समयमा टेण्डरमार्फत बीउ खरिद गर्न नसकिएको ज्ञान केन्द्रका प्रमुख भागिरथ यादवले बताउनुभयो । साल्ट ट्रेडिङसँग २ सय ३० मेट्रिक टन बीउको सम्झौता भए पनि सम्झौता अनुसार बीउ नआएपछि किसानलाई दिन नसकिएको उहाँको भनाइ छ ।

‘साल्ट ट्रेडिङले १ सय ५ टन मात्र उपलब्ध गरायो,’ यादवले भन्नुभयो, ‘त्यो पनि सिराहा र सप्तरीका किसानलाई बाँड्नु पर्ने भएकाले सबैतिर बीउको अभाव छ ।’ 
सप्तरीमा कृषि ज्ञान केन्द्र र साल्ट ट्रडिङले डिलरमार्फत गहुँको बीउ वितरण गर्दै आएका छन् । ज्ञान केन्द्रले झण्डै ६० टन तथा साल्ट ट्रडिनले १ सय ६ दशमलव २४ टन बीउ मात्र  सप्तरीमा बिक्री भएको जनाएको छ ।

केन्द्रका अनुसार सप्तरीका लागि ७ सय मेट्रिक टन गहुँको बीउ आवश्यक छ । अहिले पनि सप्तरीमा झण्डै ५ सय ५० टन गहुँको बीउ अपुग भएको कृषि ज्ञान केन्द्र सप्तरीका कर्मचारीहरु बताउँछन् । साल्ट ट्रडिङले २ हजार ६ सय २० रुपैयाँ प्रतिबोरा र कृषि ज्ञानकेन्द्रले ४० प्रतिशत अनुदानमा १ हजार ५ सय ७२ रुपैयाँ प्रतिबोरा बेच्ने गरेको गहुँको बीउ खुल्ला बजारमा भने प्रतिबोरा ४ हजार रुपैयाँले बिक्री भइरहेको किसानहरूको गुनासो छ । तर कारबाही गर्ने निकाय मौन बसेको किसानको आरोप छ ।

जिल्ला आपूर्ति समितिका संयोजक तथा सप्तरीका सीडीओ सुरेन्द्र पौडेलले बीउ सहज वितरण तथा कालोबजारी नियन्त्रणका लागि स्थानीय तहलाई पत्राचार गरिसकिएको बताउनुभयो ।

बीउको कालोबजारी सुरु भएको गुनासो आएपछि सदरमुकाममा समेत अनुगमन तीव्र बनाइएको उहाँको भनाइ छ । अनुदाको बीउ भारततर्फ समेत निकासी हुन थालेपछि पछिल्लो समय सुरक्षाकर्मी परिचालन गरी झण्डै ४० क्विन्टल बीउ नियन्त्रणमा लिई राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको केन्द्र प्रमुख यादवले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २५, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया